कोशी

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड



रसुवा, १ मङ्सिर

हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै ओझेलमा परेको रसुवाको नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड । समुद्री सतहबाट करिब चार हजार ५५० मिटरको उचाइमा अवस्थित यो कुण्ड जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ । स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले चिनिन्छ । हिमालबाट निरन्तर भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो छ । कुण्डको वरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले यहाँको प्राकृतिक छटालाई थप मनमोहक बनाएको छ । विशेषगरी गर्मी समयमा फुल्ने दुर्लभ हिमाली फूलले प्रकृतिप्रेमीलाई आकर्षित गर्दछ । मौसम सफा भएको समयमा कुण्ड परिसरबाट वरिपरिका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताका साथै डिल्पु कुण्डको धार्मिक र सांस्कृतिक महत्व रहेको छ । स्थानीय तामाङ समुदायले यस कुण्डलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्ने परम्परा छ । लिखित ऐतिहासिक अभिलेख नभए पनि पुस्तान्तरण हुँदै आएका मौखिक जनश्रुतिले यस स्थानलाई आस्थाको केन्द्रका रूपमा स्थापित गरेको छ । विशेष पर्व तथा अवसरमा स्थानीय बासिन्दा यहाँ पुगेर पूजाआजा र धार्मिक अनुष्ठान गर्ने गर्दछन् । डिल्पु कुण्ड पुग्न काठमाडौँबाट सडक मार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म पुग्न सकिन्छ । चिलिमेबाट स्थानीय पदमार्ग पछ्याउँदै साञ्जेन क्षेत्र र त्यहाँबाट पैदल यात्रा गरी कुण्डसम्म पुग्न सकिन्छ । हिमाली क्षेत्र भएकाले मौसम र बाटोको अवस्था बुझेर स्थानीय पथप्रदर्शकको सहयोगमा यात्रा गर्नु उपयुक्त मानिन्छ । सो क्षेत्रको भ्रमणका लागि वैशाख, जेठ र असोज–कात्तिक महिना सबैभन्दा अनुकूल मानिन्छ । यो समयमा आकाश खुल्ने भएकाले हिमाल र कुण्डको स्पष्ट दृश्य देख्न सकिन्छ । हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यात्रा कठिन हुन सक्छ । अपार पर्यटकीय सम्भावना बोकेको भए पनि डिल्पु कुण्डमा आवश्यक पूर्वाधारको अभाव छ । पदमार्गमा स्पष्ट सङ्केत बोर्ड नहुनु, खानेपानी तथा बासस्थानको उचित प्रबन्ध नहुनु र फोहर व्यवस्थापनमा ध्यान नपुग्नु यहाँका मुख्य चुनौतीका रुपमा रहेको छ । रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका गन्तव्यको प्रवर्द्धन गर्नसके जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने बताउनुभयो । उहाँका अनुसार डिल्पु कुण्डलाई नजिकैको पार्वतीकुण्ड र साञ्जेनका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्न आवश्यक छ । “यस्ता लुकेका गन्तव्यमा आधारभूत पूर्वाधार, पदमार्ग सुधार र पर्याप्त प्रचारप्रसार गर्नसके स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ”, अध्यक्ष न्यौपानेले भन्नुभयो, “यसले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा प्रत्यक्ष टेवा पुग्ने भएकाले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य आवश्यक छ ।” आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको संरक्षण तथा प्रवद्र्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । अध्यक्ष तामाङले भन्नुभयो, “डिल्पु कुण्डको प्राकृतिक र सांस्कृतिक महत्वलाई जोगाउँदै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आधारभूत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाउनेछ । पर्यटन व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ ।” —

प्रकाशित : २ मंसिर २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६