इलाम, १ मङ्सिर
इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आउनुभएको छ । निरन्तरको मेहनत र अनुभवले उहाँलाई यस क्षेत्रको अगुवा टमाटर किसानका रूपमा स्थापित गरेको छ । गत वर्ष चार हजार ५०० बोट टमाटर लगाउनुभएका उहाँले बिक्रीबाट रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको थियो । उत्पादनको सुरुआतमा प्रतिकेजी रु ५० र सिजनको अन्त्यतिर रु ९० सम्ममा टमाटर बिक्री गर्नुभएको थियो । यस वर्ष उहाँले खेती विस्तार गरी १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाउनुभएको छ । अहिले अगुवा बोटमा उत्पादन सुरु भइसकेको छ । यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उहाँको अनुमान छ । हाल प्रतिकेजी रु ५० का दरले टमाटर बिक्री भइरहेको छ । गत वर्षकै हाराहारीमा मूल्य कायम रहे रु सात लाखभन्दा बढी आम्दानी हुने उहाँले अपेक्षा गर्नुभएको छ । टमाटरखेतीबाटै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएकी अर्की किसान मनिषा राईले गत वर्ष रु चार लाख आम्दानी गर्नुभएको थियो । उहाँले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाउनुभएको छ । पूर्वकार्यपालिका सदस्यसमेत रहनुभएकी राईका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट प्राप्त आम्दानीमा निर्भर हुने गरेको छ । त्यस्तै, किसान विनोद राईले यस वर्ष पाँच हजार बोट टमाटर लगाउनुभएको छ । यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आउनुभएका उहाँले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गर्नुभएको हो । बजार मूल्य राम्रो पाए आम्दानी पनि बढ्ने उहाँको अपेक्षा छ । टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले बताउनुभयो । उहाँका अनुसार यहाँबाट वार्षिक रु एक करोड २० लाखभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको उहाँले बताउनुभयो । टमाटरखेतीबाट अन्य अन्नबालीको तुलनामा राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । टमाटरको खेती वर्षमा करिब छ महिना मात्र हुने भएकाले बाँकी समयमा मकैखेती गर्ने गरिएको स्थानीय किसान बताउँछन् । यसरी फरकफरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ । टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुससम्म हुने गर्दछ । रोपेको करिब ७० दिनमा फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ । यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म बिक्रीका लागि पुग्ने गरेको छ । निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज भएकाले बजारसम्म उत्पादन पु¥याउन सजिलो भएको स्थानीय किसान मनुकुमार राईले बताउनुभयो । व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेकाले उत्पादन बिक्री नहुने चिन्ता नरहेको उहाँको भनाइ छ ।









प्रतिक्रिया