देश

शैक्षिक गुणस्तर र प्रशासनिक सेवालाई चुस्त बनाउँदै त्रिवि



काठमाडौँ २ मङ्सिर

शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स–साना प्रशासनिक कामका लागि पनि क्याम्पसले केन्द्रीय कार्यालय नै धाउनुपर्ने विद्यमान झन्झट अन्त्य गर्न त्रिविले यो कदम चाल्न लागेको हो । विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार शैक्षिक सुधारसँगै प्रशासनिक प्रभावकारिता, आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहिता सुनिश्चित गर्नु नै यो अभियानको मुख्य लक्ष्य हो । ‘विकेन्द्रीकरण नियम २०५५’लाई समयानुकूल अध्ययन गर्दै हालसम्म यस प्रक्रियामा सामेल नभएका क्याम्पसलाई समेट्ने त्रिविको तयारी छ । यसअघि विकेन्द्रीकरणमा गएका अधिकांश अध्ययन संस्थान र क्याम्पसले शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अधिकारको प्रयोगमा मात्र बढी ध्यान दिएको त्रिविको निष्कर्ष छ । आफूअनुकूल आर्थिक निर्णय गर्दा विश्वविद्यालयमा बेरुजुको चाङ बढेको भन्दै अब आर्थिक पाटोसँगै शैक्षिक सुधारलाई अनिवार्य प्राथमिकतामा राखेर नियम कार्यान्वयन गरिने उपकुलपति थापाले बताउनुभयो । प्रचलित विकेन्द्रीकरण नियमले अध्ययन संस्थान, सङ्काय, अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसलाई अनुदान दिनुका साथै नीति निर्माण, योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र सामान्य कारबाही गर्नेसम्मको स्वायत्त अधिकार दिएको छ । यस्तै, कार्यकारी परिषद्ले तोकेको बाहेक अतिरिक्त शुल्क निर्धारण गर्ने बाटो पनि नियमले खुला राखेको छ । आर्थिक व्यवस्थापनतर्फ, सम्बन्धित निकायले आर्जन गरेको कुल आम्दानीको ३० प्रतिशत हिस्सा विश्वविद्यालयको केन्द्रीय कोषमा बुझाउनुपर्ने प्रावधान छ । बाँकी ७० प्रतिशत रकम भने आफ्नै छुट्टै कोषमा जम्मा गरी व्यवस्थापन तथा विकास परिषद्बाट बजेट स्वीकृत गराएर खर्च गर्न पाइन्छ । त्रिविको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म आठ क्याम्पसले पूर्ण स्वायत्तता प्राप्त गरिसकेका छन् । त्यसैगरी, सात अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र र ४२ आङ्गिक क्याम्पस विकेन्द्रीकरणको अभ्यासमा गइसकेका छन् भने अब जम्मा १२ क्याम्पस मात्र यस प्रक्रियामा जोडिन बाँकी छन् ।

प्रकाशित : ३ मंसिर २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६