देश

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत



काठमाडौँ, ३ मङ्सिर

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) छ दशमलव ३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति रु ४१ खर्ब १४ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड डलर रहेको छ । उक्त सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता रु दुई खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति रु तीन खर्ब तीन अर्ब ७९ करोड बचतमा रहेको छ । यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह रु दुई खर्ब ६७ अर्ब ३४ करोड रहेको छ । त्यस्तै, समीक्षा अवधिमा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको कुल खर्च रु तीन खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन रु दुई खर्ब ९८ अर्ब ६१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय चार दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन दुई दशमलव आठ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव सात प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर आठ दशमलव तीन प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर दुई दशमलव ७५ प्रतिशत रहेको छ भने ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव ०१ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर छ दशमलव ३१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । –––

प्रकाशित : ४ मंसिर २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६