कपिलवस्तु ४मंसिर
कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३।०८४ को पहिलो चार महिनामा २६ जनाले दुर्घटनामा ज्यान गुमाए भने ६ हजारबढी सवारी कानुनी कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार २९ वटा सवारी साधन कारबाहीमा परेका हुन्। कारबाहीबाट ट्राफिक प्रहरीले ८९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख एवं प्रहरी निरीक्षक राजन ढकालका अनुसार साउनदेखि कात्तिकसम्म ट्रक, बस, कार, जिप, मोटरसाइकललगायतका सवारी साधन कारबाहीमा परेका हुन्।यसै अवधिमा क्षमताभन्दा बढी भार बोकेका २ हजार ६ सय ५६ भारतीय मालवाहक सवारी साधनलाई कारबाहीका लागि यातायात सेवा कार्यालय तौलिहवा पठाइएको थियो।
ती सवारीबाट कार्यालयले २ करोड ६५ लाख ६० हजार रुपैयाँ जरिवाना संकलन गरेको छ। यसरी चार महिनामा ट्राफिक तथा ओभरलोड कारबाहीबाट कुल ३ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।यस्तै, चार महिनामा जिल्लामा २ सय ९२ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १ सय २३ जना गम्भीर र ३ सय ५६ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ४ सय ३२ वटा सवारी साधन संलग्न थिए।ट्राफिक प्रहरीका अनुसार तीव्र गति, मादक पदार्थ सेवन, चालकको लापरबाही, क्षमताभन्दा बढी भार तथा ट्राफिक नियम उल्लंघन दुर्घटनाका प्रमुख कारण हुन्।यस अवधिमा ट्राफिक प्रहरीले ९ सय ८१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५४ हजार ८ सय ९२ जनालाई सचेत गराएको जनाएको छ। गत आर्थिक वर्षमा कपिलवस्तुमा ६ सय ८५ दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो ।
५ मंसिर २०८३, शुक्रबार









प्रतिक्रिया