देश

हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम



काठमाडौँ, ४ मङ्सिर

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको लामो लाम लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको लाम लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारीसाधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा आउँछन् । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ः०० बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो । भक्तजन आउन थालेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो । बूढानीलकण्ठ नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको छ । बिहान छ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा एवं दर्शन गरेको उहाँले बताउनुभयो । १ः३० बजेदेखि सवा आठ बजेसम्म बूढानीलकण्ठको विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका लागि बन्द गरिने कार्यक्रम रहेको मठले जनाएको छ । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटककोसमेत बूढानीलकण्ठमा भीड लाग्ने गर्छ । मठले प्रत्येक वर्ष हरिबोधिनी एकादशीको अवसर पारेर श्रीमद्भागवत कथा वाचन गराउने गरेको छ । मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ एवं धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन गरिने भएको छ । यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुव्र्युह नारायण मन्दिर, हाँडीगाउँ क्षेत्रका नारायण मन्दिर, हनुमानढोका दरबार क्षेत्रका नारायण मन्दिर र पशुपति क्षेत्रका नारायण मन्दिर, गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरलगायत काठमाडौँ उपत्यका र उपत्यका बाहिरका नारायण मन्दिरमा पनि पूजा, आराधना एवं दर्शनका लागि भक्तजन जम्मा भएका छन् । –––

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६