अन्तर्राष्ट्रिय

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी



तेल अभिव, ४ मङ्सिर (रासस/एएनआई) :
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउनुभएको छ । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहनुभएको छ । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उहाँले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् । आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ । यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन् । ट्रम्पले तीनै आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम कम गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो । यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्‍याएको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले इरानको आणविक कार्यक्रमसम्बन्धी आरोपपछि अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाइएको भन्दै अमेरिकी दाबीप्रति आपत्ति जनाउनुभएको छ । उहाँले इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रसङ्ग स्मरण गराउँदै अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताउनुभएको छ ।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६