अन्तर्राष्ट्रिय

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन



संयुक्त राष्ट्रसङ्घ,४ मङ्सिर (रासस/सिन्ह्वा)


विगतका पुस्ताको तुलनामा अहिलेका युवा बढी शिक्षित भए पनि उचित रोजगारी, आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न उनीहरूलाई कठिनाइ बढ्दै गएको संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले बिहीबार सार्वजनिक गरेको सन् २०२६ को विश्व जनसङ्ख्या प्रतिवेदन ‘सक्सिडिङ जेनेरेसन्स : इम्पावरिङ योङ पिपुल टु चार्ट द फ्युचर’ मा युवाका आकाङ्क्षा र उनीहरूका लागि उपलब्ध अवसरबीचको खाडल फराकिलो हुँदै गएको उल्लेख छ। प्रतिवेदनअनुसार विश्वभरका ७८ प्रतिशत बालबालिकाले तल्लो माध्यमिक शिक्षा पूरा गर्ने गरेका छन् भने ६२ प्रतिशतले माथिल्लो माध्यमिक शिक्षा पूरा गर्छन्। त्यस्तै, ४४ प्रतिशत युवा उच्च शिक्षामा प्रवेश गर्ने गरेका छन्। यी सबै अहिलेसम्मकै उच्च दर हुन्। शैक्षिक क्षेत्रमा प्रगति भए पनि विश्वभरका प्रत्येक पाँचमध्ये एक युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि संलग्न छैनन्। न्यून आय भएका देशमा प्रत्येक पाँचमध्ये एक युवा वयस्कले मात्र सुरक्षित तलबसहितको रोजगारी पाउने गरेको प्रतिवेदनमा उल्लेख छ। १५ देखि २४ वर्ष उमेर समूहका युवतीहरू युवा पुरुषको तुलनामा रोजगारी, शिक्षा वा तालिमबाट बाहिर रहने सम्भावना दोब्बरभन्दा बढी छ। त्यस्तै, अपाङ्गता भएका युवामध्ये ४९ प्रतिशत न विद्यालयमा छन् न त रोजगारीमा। ७३ देश तथा क्षेत्रका १८ देखि ३९ वर्ष उमेर समूहका एक लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता युवाको सर्वेक्षणमा आधारित विश्लेषणले युवाहरू परम्परागत जीवनका महत्त्वपूर्ण चरणमा ढिलो प्रवेश गरिरहेको देखाएको छ। प्रतिवेदनअनुसार २५ देखि २९ वर्ष उमेर समूहका कम्तीमा आधा उत्तरदाता आफ्नो जन्मपरिवारबाट अलग भएर बस्न थालेका छन्। त्यस्तै, ३० देखि ३४ वर्ष उमेर समूहका अधिकांशले स्थिर सम्बन्धमा रहेको र ३५ देखि ३९ वर्ष उमेर समूहका अधिकांशले सन्तान जन्माइसकेको बताएका छन्। सर्वेक्षणमा सहभागीमध्ये ७० प्रतिशतले विवाहलाई आफ्नो आदर्श सम्बन्धका रूपमा लिएका छन् भने ९१ प्रतिशतले कम्तीमा एक सन्तान चाहेको बताएका छन्। तर, विवाहलाई प्राथमिकता दिने ३५ देखि ३९ वर्ष उमेर समूहका ४० प्रतिशतभन्दा बढी अझै अविवाहित रहेको पाइएको छ। त्यस्तै, उक्त उमेर समूहका करिब एक चौथाइले आफूले चाहेको भन्दा कम सन्तान भएको बताएका छन्। आर्थिक असुरक्षा जीवनसाथी खोज्न र सन्तान जन्माउन प्रमुख बाधक बनेको छ। सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशतले जीवनसाथी खोज्न र ७२ प्रतिशतले सन्तान जन्माउन आर्थिक असुरक्षालाई मुख्य अवरोधका रूपमा उल्लेख गरेका छन्। यूएनएफपीएका कार्यकारी निर्देशक डिएन केइटाले युवाहरू आर्थिक स्वतन्त्रता, स्थिर सम्बन्ध र सन्तान चाहना राख्ने भए पनि आर्थिक असुरक्षा, महँगो आवास, द्वन्द्व र सामाजिक बहिष्करणले उनीहरूका आकाङ्क्षा पूरा गर्न कठिन बनाएको बताउनुभयो। उहाँले युवाको स्वास्थ्य, शिक्षा र आर्थिक अवसरमा लगानी गर्न तथा आफ्नो शरीर र जीवनबारे निर्णय गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिवेदनले युवाहरूको राजनीतिक निर्णय प्रक्रियामा कमजोर सहभागितालाई पनि प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। विश्व जनसङ्ख्याको १९ प्रतिशत हिस्सा ३० वर्ष वा सोभन्दा कम उमेरका व्यक्तिहरूले ओगटे पनि विश्वभरका संसद्मा उनीहरूको प्रतिनिधित्व केवल २.८ प्रतिशत रहेको छ। यसका अतिरिक्त द्वन्द्व, जलवायु परिवर्तन, प्रविधिमा तीव्र परिवर्तन र अन्तर्राष्ट्रिय विकास सहायता घट्दै जानुले युवा पुस्तामाथिको दबाब थप बढाएको प्रतिवेदनमा उल्लेख छ। युवाको भविष्य सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा, मर्यादित रोजगारी र सामाजिक सुरक्षामा लगानी बढाउनुका साथै नीति निर्माण तथा निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न प्रतिवेदनले आह्वान गरेको छ। —

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६