कपिलवस्तु १२ मंसिर
शिवराज नगरपालिका–५ मा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कमला डुम्रे सर्वसम्मत निर्वाचित हुनुभएको छ। संस्थाको १७औँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट डुम्रे अध्यक्षमा चयन हुनुभएको हो। सहकारीको इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएसँगै संस्थाको नेतृत्वमा महिला प्रतिनिधित्व स्थापित भएको छ।
डुम्रेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन भएको छ। समितिको उपाध्यक्षमा कपिलदेव खनाल, सचिवमा नमराज न्यौपाने र कोषाध्यक्षमा बसन्ता पाण्डे चयन हुनुभएको छ।

त्यस्तै, सदस्यहरूमा गीता पौडेल, यदा क्षेत्री, विजय सापकोटा र कविराज अधिकारी चयन हुनुभएको छ। यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कौशलराज न्यौपाने तथा सदस्यहरूमा यमुना शर्मा र विष्णु सोती सर्वसम्मत निर्वाचित हुनुभएको छ।
महिलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुनुले सहकारी क्षेत्रमा महिला सहभागिता र नेतृत्व विकासको सम्भावनालाई थप उजागर गरेको छ। नयाँ नेतृत्व सामु संस्थाको सुशासन, वित्तीय पारदर्शिता, प्रभावकारी सेवा प्रवाह तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने जिम्मेवारी रहेको छ।









प्रतिक्रिया