पर्यटन

धमाधम बुकिङ रद्ध,लुम्बिनी क्षेत्रका होटलहरुमा पर्यटक छैनन्



रुपन्देही, ११ फागुन चीनमा फैलिएको कोरोना भाईरसको प्रकोपका कारण लुम्बिनी क्षेत्रका होटलहरुमा पर्यटकहरुले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । भ्रमण वर्षको सुरुवातमै बुकिङ रद्द हुँदा पर्यटन क्षेत्रमा धक्का लागेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

       जनवरी महिनामा यसको खासै प्रभाव नदेखिए पनि फेब्रुअरीको सुरुबाटै प्रभाव देखिन थालेको हो । फेब्रुअरी महिना पर्यटकका लागि उपयुक्त मौसम मानिएपनि पर्यटक आगमन अत्यधिक कम रहेको भैरहवास्थित द पिक बोधी रेडशन होटलका निर्देशक यादवप्रसाद पाण्डेले बताउनुभयो । चिनिया गु्रपहरुले धमाधम बुकिङ रद्द गरिरहेको उहाँले जानकारी दिनुभयो ।

         “फेब्रुअरीमा कम्तीमा १२ वटा चिनियाँ ग्रुपले बुकिङ गरेका थिए, तर एक्कासी उनीहरुले रद्द गरे, अन्य  युरोपियन तथा पुर्वी एशियाका पर्यटकहरुले पनि भ्रमण रद्द गरिरहेका छन्”–द पिकका उपाध्यक्ष समेत रहनुभएका पाण्डेले भन्नुभयो । लक्जरी इन्टरनेशनल निर्भाना होटलले पनि फेब्रुअरी महिनाका लागि बुकिङ भएका आठ चिनिया गु्रपले भ्रमण रद्द गरेको जनाएको छ । होटलका नायब महाप्रवन्धक सुनिल श्रेष्ठका अनुसार चिनिया मात्र नभई दक्षिण कोरियाको एक गु्रपले पनि कोरोना भाईरसको कारण देखाउँदै भ्रमण रद्द गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्य संकटकाल घोषणा गरेपछि यो क्षेत्र प्रभावित हुँदै गएको उहाँको भनाइ छ । 

        पर्यटन व्यवसायीहरुका अनुसार फेब्रुअरी महिनाका भ्रमणहरु विशेषगरी चाइनिज समूहको रद्द हुन थाले पनि अन्य महिना मार्च, अप्रिलका लागि भएका बुकिङहरु हालसम्म यथावत रहेका छन् ।  लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले यो रोगको प्रभाव लुम्बिनीमा पनि परेको बताउनुभयो । “कोरोना भाइरसको प्रकोपकै कारण चिनिया पर्यटक लुम्बिनीमा देखिन छाडेका छन”–श्रेष्ठले भन्नुभयो । स्थलमार्गको बेलहिया हुँदै आउने पर्यटकहरुको मुख्य गन्तब्य बुद्ध जन्मस्थल लुम्बिनी हो । त्यसपछि त्यहाँबाट काठमाडौ, चितवन, पोखरा लगायतका स्थानमा जाने गरेका छन् । अहिले भ्रमणमा आइरहेका पर्यटकहरु कोरोना रोगको प्रभाव बढ्नु पुर्व नै भारतमा आइसकेका पर्यटक हुन् ।

            यो रोग नियन्त्रणमा आउन नसके अबको दुई सातामा होटल तथा पर्यटन ब्यवसाय सुनसान जस्तै हुने र यसको असर पर्यटन र समग्र अर्थतन्त्रमा पर्ने होटल संघ नेपाल (हान) का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल संघ नेपाल (सान) का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।  स्थल नाकाको बेलहिया हँदै जनवरी महिनामा कुल ११  हजार सात सय ५९ विदेशी पर्यटक आएका थिए ।  गत बर्षको जनवरीमा यो नाका हँुदै १२ हजार चार सय ५२ बिदेशी पर्यटक भित्रिएका थिए 

          जनवरीको अन्तिमतिर कोरोनाको प्रभाव बढेसँगै पर्यटक आगमन घटन थालेको हो । भैरहवा क्षेत्रको पाँचतारे टाइगर प्यालेश रिसोर्टमा भने प्रायः भारतीय पर्यटक आउने गरेको रिसोर्टका नायव महाप्रवन्धक लक्ष्मण थापाले बताउनुभयो ।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६