अर्थ-वाणिज्य

भैैरहवा सेजमा विद्युत आपूर्ति नहुँदा उद्योगी समस्यामा



भैरहवा १२ फागुन । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा माग अनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् । विद्युत् प्रसारण लाइन नबन्दा मागअनुसारको बिजुली नपाएपछि उद्योगी समस्यामा परेका हुन् । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ । पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गर्नुभएका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्द चौधरीले बताउनुभयो ।सेजमा अहिले ३३ केभीएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भएकाले हाल आपूर्ति भइरहेको विद्युत् पर्याप्त नभएको चौधरीले बताउनुभयो ।

                    भैरहवा सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, एलईडी लाइट उत्पादन उद्योग प्रालिले उत्पादन सुरु गरेका छन् । भैरहवामा जयबुद्व मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यती प्लास्टिक प्रालि निर्माणाधीन छन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।त्यसैअनुरूप भैरहवा सेजमा स्थापना भएका तीन उद्योगले डेढ करोड रुपियाँभन्दा बढीको निर्यात गरेका छन् तर विद्युत् अभावका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको उद्योगीको भनाइ छ । उद्योगका लागि पूर्वाधार तयार गरे पनि विद्युत् पाएका छैनौँ, एस प्लास्टिक उद्योगका सञ्चालक सरोज कँडेलले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रदेश ५ कार्यालय प्रमुख नवराज सुवेदीले प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट समस्या हुँदा समयमा काम हुन नसकेको बताउनुभयो । अहिले फेरि नहरपुर क्षेत्रमा स्थानीय बासिन्दालाई उचालेर अवरोध गर्न खोजिएको छ, हामीले राजनीतिक दलका प्रतिनिधि राखेर सहमतिको प्रयास गरिरहेका छौँ, उहाँले भन्नुभयो । प्रसारण लाइन निर्माणको काम करिब ८० प्रतिशत सकिएकाले अब छिट्टै नै काम सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । प्रसारण लाइन र सेजमा सबस्टेसन बनेपछि १५ मेगावट विद्युत् दिन सकिने उहाँले बताउनुभयो ।

                प्राधिकरणले योगीकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । भरौलिया–धकधई खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेको र यो अवरोध हटेपछि निर्माणले गति लिने सुवेदीले बताउनुभयो ।सरकारले भैरहवा सेजमा १५ करोड रुपियाँ लगानी गरेको छ । छवटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपियाँ लगानी गरेका छन् । सेज प्राधिकरणका प्रवक्ता उपसचिव सुन्दर थापाले मागका आधारमा बिजुलीको समस्या नभएको दाबी गर्नुभयो । उहाँले मर्मतसम्भार गर्न नसक्दा केही समस्या भने रहेको उहाँले स्वीकार गर्नुभयो । सेजको विनियमावली बनाउन, बत्तीको समस्या समधान गर्न, सबस्टेसन बनाउन टेन्डर लगाउनेलगायतका काम अब छिट्टै नै सुरु हुने उहाँले बताउनुभयो ।सेजमा पर्याप्त कर्मचारी नहुँदा पनि दैनिक काम प्रभावित हुने गरेको उद्योगीको भनाइ छ । सेजमा ५८ जना कर्मचारीको दरबन्दी छ तर नौ जना कर्मचारी मात्रै कार्यरत छन् । ती कर्मचारी पनि सेजमा भेट्न मुस्किल हुने गरेको उद्योगी गुनासो गर्छन् । सेजले करिब साढे चार महिनादेखि कार्यकारी निर्देशक पाउन सकेको छैन । सेज सञ्चालन विनियमावली नबनेका कारण कर्मचारी भर्ना गर्न समस्या भएको सेज प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६