पर्यटन

तिलोत्तमा नगरलाई खरको छानोमुक्त बनाईदै



बुटवल,२३ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरमा खरको छानो भएका नगरबासीलाई टिन दिएर खरको छानोमुक्त नगर बनाउने भएको छ ।आर्थिक अभावको कारण खरको छानोमुनि बस्न बाध्य नगरबासीको राहतका लागि नगरपालिकाले खरको छानोमुक्त अभियान चलाउने भएको हो ।नगर कार्यपालिकाको ८० औं बैठकले खरको छानो प्रतिस्थापन कार्यक्रम सञ्चालन गर्न उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा कार्यपालिका सदस्य कृष्णप्रसाद पौडेल र नारायण न्यौपाने सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलले नगरपालिकामा रहेका खरको छानोयुक्त घरको लगत संकलनपछि वडा समितिको निर्णयअनुसार सिफारिस भई आएका घरधुरीलाई जस्तापाता उपलब्ध गराउने लगायतका काम गर्नेछ ।

                         नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खरको छानो प्रतिस्थापन कार्यक्रमका लागि तीस लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । कार्यपालिका बैठकले कार्यक्रमका लागि अपुग बजेट अर्को आर्थिक वर्षमा व्यवस्था गरेर भए पनि नगरलाई खरको छानोमुक्त नगरपालिका बनाउने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।तिलोत्तमामा अझै पनि ठूलो संख्यामा खरको छानो भएका घरहरु छन् । सामुदायिक विद्यालयमा दिवा खाजा, रगतको सेवाशुल्क भुक्तानी, दुधमा प्रतिलिटर एक रुपैंयाँ अनुदान, पशु बीमामा अनुदान, गहुँ, मकैं तथा तरकारीको बिउमा अनुदानलगायतका कार्यक्रम चलाउँदै आएको तिलोत्तमाले पछिल्लो कार्यपालिका बैठकबाट खरको छानोभएका नगरबासीलाई जस्तापाताको ओतमा ल्याउने निर्णय गरेको हो ।नगरपालिकाभित्रका निम्न वर्गका परिवार, जो टिन लगाउन नसकी खरको छानामुनि बसिराख्नुपरेको छ, तिनलाई लक्षित गरेर अभियान सुरु गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । 

                                खरको छानो हुँदा आगलागी हुने जोखिम पनि धेरै भएकोले नगरबासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न अभियानको थालनी गर्न लागिएको उहाँको भनाई छ । नगर क्षेत्रमा रहेका खरको छानो भएका घरको अध्ययन गरी आवश्यक टिन उपलब्ध गराइने उहाँले बताउनुभयो ।यसैबीच तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिमलाई रोक्न हात मिलाउनुको साटो नमस्कार संस्कृतिलाई अनुसरण गर्न नगरबासीलाई आह्वान गरेको छ । कार्यपालिका बैठकले स्वास्थ्य शाखाले तयार पारेको कोरोना जोखिम पूर्वतयारी योजनालाई स्वीकृत गर्दै नगर प्रमुखको संयोजकत्वमा पूर्वतयारी निर्देशक समिति गठन गरेको छ । समितिमा उपप्रमुख जागेश्वरी चौधरी, कार्यपालिका सदस्यहरु दुर्गा पाण्डेय, चेतनारायण भण्डारी, सुरेन्द्र श्री, संगीता गुरुङ, मुक्तिनारायण चौधरी, दानबहादुर चौधरी, क्रिमसन अस्पतालका फिजिसियन डा. कृष्णचन्द्र गोदार र सदस्य सचिवमा नगर स्वास्थ्य प्रमुख मोतिप्रसाद पौडेल रहनुभएको छ ।बैठकले कोरोना भाइरस संक्रमणको शंका लागेका बिरामीको उपचार व्यवस्था मिलाउन वडा नं. १७ स्थित बीपी ग्रामलाई प्रयोगमा ल्याउन सकिने ठहर गर्दै त्यहाँ आवश्यक सर्जिकल, मेडिकल तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६