भैरहवा, २२ चैत । नेपालवाट १७ किमीको दुरीमा रहेको भारतको कोल्हुई क्षेत्रमा दिल्लीवाट आएका ६ जनामा संक्रमण पुष्टि भएको छ । यसरी भारतको कोल्हुई क्षेत्रमा कोरोना संक्रमित भेटिएको भन्दै भारतीय सञ्चार माध्यमहरुले समाचार दिएपछि शनिवार नेपाल भारत सिमावर्ती क्षेत्रका जनताले थप सर्तकता अपनाउन थालेका छन । नेपाल भारत सिमा क्षेत्र बेलहियाबाट १७ किलोमिटर टाढा रहेको कोल्हुई क्षेत्रमा कोरोना पोजिटिभ देखिएको समाचार सार्वजनिक भएको छ ।
भारतीय सञ्चार माध्यमहरुले कोल्हुई र पुरन्दरपुर क्षेत्रमा ६ जना कोरोना संक्रमित देखिएको जनाएका छन् ।संक्रमण देखिएकाहरुलाई भारत महाराजगंज जिल्लामा रहेको मिठौरा स्वास्थ्य चौकीको आईसोलेसनमा राखिएको बताइएको छ । यस्तै संक्रमितको परिवार तथा दिल्लीबाट आएका अन्य घरका परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाईनमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
कोल्हुई रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट करिब ५ किलोमिटरकै दुरीमा रहेको छ । शहरी क्षेत्रमा लकडाउनको प्रभाव देखिएपनि ग्रामीण क्षेत्र अझ बिशेष गरि मर्चवार क्षेत्रमा लकडाउनको प्रभाव देखिएको छैन ।मर्चवार क्षेत्रको मूख्य बजार नै भारतको कोल्हुई लगायतको क्षेत्र भएको कारण यो क्षेत्रमा जोखिम बढेको हो । सीमामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाए पनि खुल्ला सीमाका कारण दुवै देशको नागरिकहरु सुरक्षाकर्मीको आँखा छलेर सीमा वारपार गरिरहेका छन् ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जिनेन्द्रनाथ शुक्लाले नेपाल भारत खुला सिमा भएका कारण भारतबाट मानिसमात्र होइन खाद्यान्नसमेत नेपाल आयात भैरहेको बताउनु भयो । उहाँले मर्चवार क्षेत्रबाट नै तरकारी, खाद्यान्न लगायतको उपभोग्य बस्तु नेपाल आईरहेको बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीले सीमा क्षेत्रको सबै ठाउँमा प्रहरी खटाएको बताउँदै रातीमा लुकीचोरी त्यस्तो अवस्था भएको हुनसक्ने बताउनु भयो ।अहिले नेपाल भारत सिमा बन्द रहेपनि रातीमा भने खुल्ला सिमा अर्थात दशगजा क्षेत्रको प्रयोग गरी मानिस ओहोरदोहोर गर्ने गरेको सिमा क्षेत्रका स्थानीय वासिन्दाले बताएका छन ।
प्रतिक्रिया