कोशी

चट्याङबाट चार घाइते ,करोडौँको फलफूल बालीको क्षति



गाईघाट, ९ वैशाख । गए राति आएको हावाहुरी र चट्याङका कारण चारजना घाइते भएका छन् भने जिल्लाका विभिन्न स्थानका करोडौँको आँप, लिची र केराजस्ता फलफूल बालीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ११ देखि १२ बजेसम्म परेको चट्याङले जिल्लाका विभिन्न स्थानमा चार जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरका अनुसार जिल्लाको कटारी नगरपालिका–११ बेतिनीमा रातमा सुतिरहेका दम्पतीद्वय ५० वर्षीय चन्द्रबहादुर मगर र ४८ वर्षीया मनकुमारी मगर चट्याङका कारण घाइते भएका छन् । यस्तै कटारी नगरपालिका–६ रिस्कुमा पनि गए रातिको चट्याङबाट रिस्कुका १२ वर्षीय आसमान राई सख्त घाइते भएका छन् भने राईको घरमा चट्याङका कारण बाख्रा पनि मरेको छ । त्रियुगा नगरपालिका–५ दमौटीका २७ वर्षीया सुष्मा मगर पनि सुतेको अवस्थामा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

                चट्याङबाट घाइते भएकाको अहिले कटारी अस्पताल र जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो । यस्तै गए रातिको हावाहुरीले त्रियुगा, बेलका र चौदण्डी नगरपालिका क्षेत्रका करोडौँ मूल्यको फलफूल आँप, लिची र केराखेतीमा क्षति पुगेको छ ।त्रियुगा नगरपालिकाका खैजनपुर, जोगिदह क्षेत्रमा भर्र्खरै फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुगेको जोगीदहका स्थानीय नारायण ढकालले बताउनुभयो । यस्तै यस क्षेत्रमा धेरै केराका बोटसमेत हावाहुरीले ढालेको अर्का स्थानीय राजनारायण चौधरीले बताउनुभयो । चौदण्डी नगरपालिकाको हँडिया र सिवाइ सुन्दपुर क्षेत्रमा पनि भर्खरै फल लागेको आँप र लिचीमा हावाहुरीले खसालेर क्षति पु¥याएको छ भने धेरै केराका बोट लडाएको हँडियाका स्थानीय विष्णु चौधरीले बताउनुभयो । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, भागलपुर क्षेत्रमा पनि हावाहुरीको कारण आँप र लिचीको फलमा क्षति पुगेको छ भने धेरै केरा बगानका केरा ढालेको भागलपुरका सविन्द्र राईले बताउनुभयो ।

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६