अर्थ-वाणिज्य

संधियारलाई अधिकारः जग्गा बाँझो राखे खेती गर्न पाउने



खस्यौली, १३ बैशाख ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा विकास भएका धेरै जग्गा बाँझा छन् । त्यस्ता जग्गा लक्ष्य गरी नगरपालिकाले सो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

        सो निर्णयसँगै आफ्नो घरवरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न बाटो खुलेको छ । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराई व्यक्ति, कृषि फार्म, सहकारी, कृषक समूह, सञ्जालले खेती गर्न सक्ने जनाएको छ ।  यसरी खेती गर्दा जग्गाको साँध, सिमाना र बनावट भने बिगार्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ ।

सो निर्णयले वर्षौंसम्म जग्गा बाँझो राख्ने तर सँधियार वा छिमेकीले  खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

        यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिनुपर्ने र जग्गाधनीको अवरोधको कारणले भूमि बाँझो रहेमा नगरपालिकाले जरिवाना गर्ने सूचनामा उल्लेख छ । लकडाउनका कारण उत्पन्न परिस्थितिका कारण निकट भविष्यमा हुन सक्ने खाद्य संकटसँग जुध्न पनि जग्गा बाँझो नराख्नेगरी नीतिलाई कार्यान्वयन तहमा लैजानुपरेको नगरपालिकाले जनाएको छ ।

        एक सय २६ वर्ग किलोमिटर रहेको तिलोत्तमामा वार्षिक धान २२ हजार ४६०, गहुँ आठ हजार एक सय, तरकारी ४१ हजार ४५० र  मकै दुई हजार ४५० मेट्रिक टन उत्पादन हुने गरेको कृषि शाखाले जनाएको छ । कृषिको उत्पादकत्व बढाउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको तिलोत्तमाले यसअघि नै भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाइसकेको छ ।  (रासस)

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६