अर्थ-वाणिज्य

बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक , स्थानिय किसान हर्षित



तनहुँ १३ बैशाख । बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि तनहुँ जिल्लाका कृषक खुशी भएका छन् । बन्दाबन्दीका क्रममा स्थानीय उत्पादनले बजार नपाएपछि निरास बनेका कृषक बाहिरी जिल्लाबाट तरकारी आयात गर्न रोक लगाइएपछि खुशी भएका हुन् ।बन्दाबन्दीका कारण तरकारी बिक्री नहुँदा बारीमै तरकारी कुहिने चिन्तामा रहेका यहाँका कृषक अब भने स्थानीय उत्पादनले बजार पाउनेमा ढुक्क छन् । बाहिरी जिल्लाबाट सहजरूपमा तरकारी भित्रिने तर स्थानीयस्तरमा उत्पादन भइरहेका तरकारी कुहिने हो कि भन्ने चिन्ता हटेको तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका कृषक सोलबहादुर चितौरे मगरले बताउनुभयो । बन्दाबन्दी अगाडि यहाँ उत्पादित तरकारी चितवन, धादिङ, काठमाडौँसम्म निर्यात हुने गरे पनि अहिले व्यापारीले तरकारी खरिद गर्न छाडेका थिए । “तर अब बाहिरी जिल्लाबाट तरकारी आउन बन्द भएपछि यहाँका कृषक खुशी भएका छन्”, उहाँले भन्नुभयो, “बारीमै तरकारी कुहाएर फाल्न नपर्ने भयो ।” उहाँका अनुसार तनहुँ जिल्लाका लागि आवश्यक तरकारी जिल्लाभित्रै उत्पादन हुने गरेको छ ।

उ  हाँका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, शुक्लागण्डकीलगायतका ठाउँमा कृषकले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका छन् । बन्दाबन्दीका क्रममा व्यवस्थितरूपमा तरकारी बिक्री वितरणको व्यवस्था मिलाउन सकिए उपभोक्ताले पनि सुपथ मूल्यमा तरकारी खरिद गर्न पाउने चितौरेले बताउनुभयो ।यहाँ उत्पादित तरकारी मिलीजुली कृषि उत्पादक सहकारी संस्थाले बिक्री वितरण गर्ने भएको छ । बन्दाबन्दीका कारण सहकारीमार्फत तरकारी बिक्री वितरण गर्न गाह्रो भए पनि अब भने सहजरूपमा तरकारी बिक्री वितरण गर्न सकिने सहकारीका अध्यक्ष ईश्वरबाबु गौलीले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेका तरकारी सहकारीमार्फत जिल्लामै बिक्री वितरणको व्यवस्था मिलाए पनि केही ठाउँमा तरकारी पसल सञ्चालकको अवरोधका कारण तरकारी बिक्री गर्न सकिएको थिएन । “बाहिरी जिल्लाबाट तरकारी आयात हुँदा यहाँ उत्पादित तरकारी बिक्री हुनसकेको थिएन, तर अब स्थानीय उत्पादनले बजार पाउने भयो”, गौलीले भन्नुभयो । 

 यहाँका करीब ५००  भन्दा बढी कृषकले व्यावसायिकरुपमा तरकारी खेती गर्छन् । यस ठाउँमा अहिले उत्पादन अनुसारका बन्दा, काउली, फर्सी, लौका लगायतका तरकारी उत्पादन भइरहेको छ । गौलीका अनुसार आँबुखैरेनी गाउँपालिकाका कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गर्ने र सहकारीले जिल्लाभर तरकारी बिक्री वितरणको व्यवस्था मिलाउनेछ । कृषकले उत्पादन गरेको तरकारी सहकारीले खरिद गरेर होलसेल मूल्यमा रु १० भन्दा बढी वृद्धि नगरी खुद्रा बिक्री वितरण गर्ने सहमति भएको छ । लौका प्रतिकिलो रु ४५, काक्रो रु ३५, सिमी रु ५०, घिरौला रु ७५, फर्सी गोलो रु ३५, फर्सी लामो रु २५, करेला रु ७५, बन्दा रु ३०, भेन्टा लोकल रु ५०, चिचिण्डो रु ७५ मा विक्री वितरण गरिनेछ । साढे दुई किलोभन्दा बढी तरकारी खरिद गर्ने उपभोक्तालाई तरकारी खरिदमा सहुलियत प्रदान गरिनेछ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६