अर्थ-वाणिज्य

बन्दाबन्दीले मौरीपालक किसानलाई मह काढ्न समस्या



लमही, १४ बैशाख । लकडाउनका कारण दाङका मौरीपालक कृषकलाई मह काढ्न समस्या भएको छ । बन्दाबन्दीले मौरी राखिएको स्थानसम्म पुग्न नसक्दा  कृषकले मह काढ्न सकेका छैनन् । दाङ जिल्ला मौरीपालनका लागि उर्वर भूमि मानिन्छ । मह उत्पादन हुने समयमै कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएकाले मह काढ्न नसक्दा ठूलो घाटा व्यहोर्नुपरेको कृषकको गुनासो छ । गत चैत १५ गतेदेखि मह काढ्ने याम शुरु भए पनि सो अगावै लकडाउन भएका कारण मह काढ्न नपाएको नेपाल मौरीपालन महासंघका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो । 

            उहाँका अनुसार यस याममा मौरी चरनका लागि यहाँका कृषकले कैलाली, लुम्बिनी, कपिलवस्तुलगायत जिल्लामा लगेका थिए ।  मौरीपालन फार्मका सञ्चालक माधव केसीले यस पटक मह काढ्न नपाउँदा रु १५ लाख बराबरको घाटा लागेको बताउनुभयो । चार सय गोला मौरी पालन गर्नुभएका केसीले यस याममा तीन टन मह उत्पादन गर्नुहुन्थ्यो । यस वर्र्ष एक किलो मह पनि उत्पादन नभएको उहाँले बताउनुभयो । ‘‘मेरो मौरी कैलालीमा छ, म चैत २ गते यहाँ आएको हुँ, लकडाउनका कारण समयमा जनशक्ति र साधन नहुँदा मह काढ्न पाइन ’’, उहाँले भन्नुभयो । 

            यस वर्ष करीब ४० गोला मौरी थप गर्ने योजना रहे पनि गोला फुटेर मौरी सबै भागेको केसीको भनाइ छ ।  त्यस्तै ३०० घार मौरीपालन गर्नुभएका विनोद हमालले पनि लकडाउनका कारण मह काढ्न नपाएको गुनासो गर्नुभयो । धेरैजसो किसानका मौरी अहिले चरनका लागि कैलालीलगायत जिल्लामा छन् । 

            यससँगै माहुरीका लागि चरन सकिए पनि लकडाउनका कारण सम्बन्धित ठाउँमा पुग्न नसक्दा मौरी कसरी बचाउने भन्ने चिन्ता कृषकलाई छ ।  मौसमले साथ दिएको र कुनै रोग नलागेका कारण यस वर्ष मौरी र मह उत्पादन बढ्ने आशामा बसेका कृषकमा निराशा छाएको अर्का कृषक विष्णु केसीले बताउनुभयो । उहाँले १५० गोला माहुरीपालन गरेकामा एक केजी महसमेत उत्पादन नभएको र गोला थप गर्न नसकिको गुनासो गर्नुभयो ।  

            कृषकले यहाँ १६ हजार गोला मौरी पालेका छन् । त्यसबाट यस याममा करीब १६० देखि २०० टनसम्म मह उत्पादन हुने अनुमान गरिएको थियो । मह उत्पादन घटेसँगै जिल्लाका कृषकको करीब रु पाँच करोड क्षति भएको अनुमान  गरिएको छ ।   मह प्रतिकिलो रु २५० देखि ३०० सम्म बिक्री हँुदै आएको थियो । जिल्लाका अन्य क्षेत्रमा मौरी राखेका कृषकलाई जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था नगरेको महासंघले जनाएको छ । (रासस)

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६