सुदूरपश्चिम

बन्दाबन्दीका कारण रोकिए गौरवका सडक आयोजना



बैतडी १४ बैशाख । भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् । प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको काम सुरु हुन सकेको छैन । गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो । बैतडीको सतबाँझदेखि हाटसम्म १ सय किलोमिटर रहेको उक्त सडकको हाल १४ किलोमिटरमा कालोपत्रको लागि अनुमानित रु ५० करोडको बोलपत्र आह्वान गरिएको थियो । सतबाँझदेखि ६ किलोमिटर कालोपत्रका लागि रु २० करोड र र श्रीभावरदेखि ८ किलोमिटर कालोपत्रका लागि रु २८ करोडको सूचना प्रकाशित भएको थियो । बहुवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष २०७९÷८० सम्म सक्ने लक्ष्य रहेको भएपनि अब लक्ष्यअनुसार काम सम्पन्न हुनेमा आशङ्का बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भौतिक पूर्वाधारको कामको प्रगति हुने बेला बन्दाबन्दीले गर्दा सबै ठप्प छ, समयमै काम सक्न गाह्रो छ ।

                   ” महाकाली कोरिडोरको काम पनि प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुदैँ टिङ्करसम्म जोड्ने उक्त प्रदेश गौरव योजनाको काम प्रभावित भएको हो । बन्दाबन्दीले गर्दा सबै काम ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताउनुभयो । दार्चुलामा कार्यालय रहेको यस आयोजनामा दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न छ ठेकेदारलाई जिम्मा दिएर खण्ड खण्डमा काम भइरहेको थियो । व्यवसायी र मजदुर आफ्ना घरतिर लागेकाले काम हुन सक्ने अवस्था छैन । कञ्चपुरदेखि दार्चुलाको तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ ।

          काम शुरु गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति भएपनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताउनुभयो । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँगको सम्झौता यसै वर्ष सकिन लागेकाले अब नयाँ सम्झौताको पनि तयारी हुँदैछ ।उक्त योजनाको काम २०६६ सालदेखि सुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ । कोरिडोर सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्छ । कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्रयाक खोलिएको छ ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६