बाँके, १७ बैशाख । बन्दाबन्दीमा नागरिकलाई वितरण गरिएको राहतका विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ । समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न सरोकार पक्षसँग छलफल गरेको छ ।
छलफलमा सहभागी प्रदेश नं ५ का प्रदेशसभा सदस्य विजय यादवले राहत वितरण वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर व्यवस्थित गर्न सुझाव दिनुभयो । उहाँले विपन्न र खानै नपुग्नेले राहत नपाएकाले वितरणलाई एकद्वार प्रणालीबाट अघि बढाउन सुझाव दिनुभयो । कोभिड–१९ को संक्रमण रोक्न जिल्लामा सरोकारा पक्षबीच समन्वय अभाव भएको पनि उहाँले बताउनुभयो ।
छलफलमा सहभागी प्रदेशसभाका अर्का सदस्य इन्द्रप्रसाद खरेलले राहत वितरणमा समन्वयको अभाव हुँदा दुरुपयोग भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक विपन्न वर्गहरुसम्म राहत पुगेको छैन । यसलाई व्यवस्थित गर्नुपर्छ । राहत वितरणलाई एकद्वार प्रणालीमा लैजाऔँँ ।” उहाँले जिल्लाका किसानले उत्पादन गरेको तरकारीलाई पनि राहतमा ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यसले जिल्लामा उत्पादित तरकारीले बजार पनि पाउँछ, उपभोक्ताले खान पाउँछन्, किसानको लगानी सुरक्षित हुन्छ ।”
अर्का सदस्य मो याकुव अन्सारीले सबैभन्दा मारमा परेका किसान र मजदूरबारे स्थानीय प्रशासनले सोच्नुपर्ने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सरकारबाट मात्रै सबै कुरा सम्भव नहुने भएकाले सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । छलफलमा सुरक्षा निकायका प्रमुखले संक्रमणको जोखिम हुन नदिन सुरक्षाका सबै रणनीति अपनाएर काम भइरहेको बताउँदै जिल्लावासीलाई बन्दाबन्दीका समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किएर सहयोग गर्न आग्रह गर्नुभयो । (रासस)
प्रतिक्रिया