एजेन्सी, २३ बैशाख । भारत सरकारले विदेशमा फसेका आफ्ना नागरिक तथा मजदुरहरुलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी जहाजमार्फत् स्वदेश फर्काउन लागेको भारत सरकारले जनाएको छ । भारतीय गृह मन्त्रालयका अनुसार उद्धारको प्रक्रिया मे महिनाको ७ तारिखदेखि सुरु हुने छ । विदेश मन्त्रालय र उच्चायोगले विदेशबाट उद्धार गर्ने भारतीय नागरिकहरुको सूची तयार गरिरहेका छन् । स्वदेश फर्किदा लाग्ने भाडा उनीहरु आफैले तिर्नु पर्ने गृह मन्त्रालयले जनाएको छ ।
नागरिकहरु उडान भर्नुअघि यात्रुहरुको स्वास्थ्य जाँच हुनेछ । कोरोना भाइरस संक्रमणको लक्षण नभएकाहरु मात्रै स्वदेश ल्याइने छ । आफ्नो देश आएपछि उनीहरुलाई पुनः स्वास्थ्य जाँच गर्ने र अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने छ । १४ दिन क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परीक्षण गर्ने र त्यसपछि पनि संक्रमण नदेखिएकाहरुलाई मात्र घर जान दिइने छ ।
कोराना भाइरसको संक्रमण रोक्ने उद्देश्यले भारतले २३ मार्चदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २४ मार्चदेखि सुरु भएको लकडाउन १७ मेसम्म कायम छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न धेरै देशहरुले लकडाउनमा छन् । विदेशमा रहेका नेपालीहरुले पनि आफूहरुलाई स्वदेश फर्काउन माग गरिरहेका छन् तर नेपाल सरकारे भने विदेशमा रहेका नेपालीका सम्बन्धमा कुनै निर्णय गरेको छैन ।
प्रतिक्रिया