अर्थ-वाणिज्य

लकडाउनले माछा बिक्री नहुँदा किसान चिन्तित



बर्दिया, २९ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लगाइएको लकडानका कारण माछा विक्री नभएपछि किसान चिन्तित बनेका छन् । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री गर्न पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र  मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । 

         चैत र वैशाख  पोखरी सफाइ र  मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् ।  करीब एक हजार क्विन्टल माछा नै बिक्री गर्न नभएर पोखरीमै छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र  रेष्टुरेन्ट बन्द रहेको र  हाटबजारसमेत नचलेपछि माछा पोखरीमै  छन् ।  बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र  गोदाममा भएको दाना सकिन थालेको बढैयाताल गाउँपालका–५ का माछापालक किसान तथा माछा ब्लक समितिका अध्यक्ष भक्तराम थारुले बताउनुभयो ।

 अध्यक्ष थारुका अनुसार  पोखरीमा राख्न पहुँचवालाले गाडी पास बनाएर भुरा ल्याए पनि साना किसानले पाउन सकेका छैनन् । तिनले माछाको दाना पनि ल्याउन पाएका छैनन् । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका माछा पालन पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । सो क्षेत्रमा सात सय हेक्टर पोखरीमा ७० किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । ठाकुरबाबा नगरपालिकामा करीब एक हेक्टर र बारबर्दिया नगरपालिकामा  करीब २० बिघा पोखरीमा माछापालन भइरहेको छ । 

        बढैयाताल ५ जगपुर माछापालक किसान चन्दप्रकाश लम्सालले नौ बिघा पोखरीमा व्यावसायिक रुपमा माछापालन गर्दै आउनुभएको छ । उहाँले पनि लकडाउनका कारण माछा बिक्री गर्न पाउनुभएको छैन ।  बर्दियाका किसानलाई माछाको भुरा र  दानाका लागि रुपन्देही, कैलाली र बाँके जिल्लामा भर पर्नुपर्ने बाध्यता छ । तयार भएका माछा बिक्रीका लागि  कैलाली, बाँके र सुर्खेत जिल्ला नै मुख्य बजार हुन् । बाह्य  र आन्तरिक दुवै बजार लकडाउनले बन्द हुँदा किसान मर्कामा परेका हुन् ।

        माछापालन प्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसान आनन्द गिरीलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । उहाँले १४ कट्ठा जग्गाको पोखरीमा उत्पादन भइसकेको माछा बिक्री गर्न नपाइएको तर  दाना खुवाइरहनुपर्दा लगानी बढेको बताउनुभयो । उहाँ माछालाई दैनिक रु २५ हजारसम्मको दाना खुवाउनुहुन्छ  । 

        ठाकुरबाबा नगरपालिका वडा नं ९ का माछापालन किसान नवराज रिजालले सात बिघा पोखरीमा माछापालन गर्नुभएको छ । लकडाउन आगामी असार महिनासम्म नखुले उत्पादन भइसकेका माछा बिक्री गर्न नपाई रु ७० लाखसम्मको आर्थिक जोखिम उठाउनुपर्ने अवस्था रहेको किसान रिजालले बताउनुभयो । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले माछापालन किसानले भोगिरहेको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो । (रासस)

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६