सुदूरपश्चिम

७५० दैलेखी मुम्बईमा अलपत्र, सामाजिक संजालमा उद्दार गर्न अपिल



दैलेख, ३० बैशाख ।  भारतको मुम्बई शहरमा रोजगारीको सिलसिलामा दैलेखबाट गएका ७५० मजदुर समस्यामा परेका छन् । काम गर्ने स्थानमा साहुले काम नहुने भन्दै जागिरबाट हटाएपछि आपतमा परेका व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । ‘भारत सरकारले हामीलाई कुनै प्रकारको सहयोग नगरेकाले नेपाल सरकारलाई सहयोग र समन्वय गरिदिन आग्रह गर्छौँ’, पीडितको भनाइ उद्धृत गर्दै सुर्खेतका पत्रकार चिन्तामणि शर्माले जानकारी दिनुभयो । पीडितले आफूलाई भाइबरमार्फत गुनासो गरेको शर्माले बताउनुभयो ।

        दैलेखको दुल्लू र भैरवी क्षेत्रका कामदार भारतमा अलपत्र परेको तथ्याङ्क नामसहित उल्लेख गरिएको छ । ‘हामीसँग भएको सबै खानेकुरा सकिएको छ, हाम्रो उद्धार गरी नेपाल फर्काउन पहल गरिदिनुप¥यो’ पीडितले आफूलाई फोन र सामाजिक सञ्जालमार्फत खबर गरेको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिनुभयो ।

         नगरप्रमुख भण्डारीले केन्द्र सरकारले सीमानाकासम्म ल्याउन सहयोग गरिदिए गाउँ नै खाली गरेर भए पनि आफना पालिकाका जनतालाई राख्ने व्यवस्था मिलाउन सकिने बताउनुभयो । जनता आपतमा परेको जानकारी पाउनेबित्तिकै उद्धार तथा अन्य सहयोगका लागि आफूले प्रदेश, केन्द्र सरकार र परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

         तत्कालका लागि केन्द्र सरकारले भारतीय दूतावासमार्फत खाद्यान्नको जोहो मिलाउन पहल गरिदिनुपर्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले बताउनुभयो । “समस्यामा परेको जानकारी पाउनासाथ मन्त्रालयलाई चिठ्ठी लेखेको छु, निर्देशन हुनासाथ देशभित्र ल्याएर १४ दिन क्वारेन्टाइनमा राखिने छ”, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भन्नुभयो । नेपाल फिर्ता गर्न सम्भव नभए त्यहीँ खानेबस्ने व्यवस्था गरिदिन अलपत्र व्यक्तिहरुले माग गरेका छन् ।

        दुल्लू नगरपालिकाका मदन बम, सन्तोष गिरी, वसन्त रोकाय, पुण्यराज रोकाय, ओम पोखरेल, वीरबहादुर भण्डारी, नेपाल जनसम्पर्क समितिका गोविन्द थापा, सुशील थापा, नरेश थापा, दिल्ली खनाल, गोविन्द नेपाली, अमर नेपाली, धर्म नेपाली, राजु नेपालीलगायत ७५० अलपत्र परेको भन्दै सामाजिक सञ्जालमा उनीहरुले सूची सार्वजनिक गरेका छन् ।  (रासस)

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६