कपिलवस्तु १० मंसिर
बाणगंगा नगरपालिका–२, पिपरा नन्दनगरस्थित कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ गुरुकुलमा आयोजित ३२औँ ज्ञानमहायज्ञ तथा श्रीमद्भागवत महापुराण सप्ताहको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ।

महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गुरुकुल शिक्षा, धार्मिक स्थलको संरक्षण र आध्यात्मिक पर्यटन प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। आध्यात्मिक तथा नैतिक शिक्षाले समाजमा अनुशासन, कर्तव्यबोध र जिम्मेवारी विकास गर्ने उल्लेख गर्दै उहाँले गुरुकुलको पूर्वाधार तथा छात्रावास निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्घाटन् समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले नन्दनगर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागर गर्न महायज्ञले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले नयाँ पुस्ताका निम्ति नैतिक शिक्षा र स्थानिय पर्यटन प्रर्वधनमा महायज्ञ महत्वपूर्ण हुने बताउनु भयो ।
महायज्ञका संयोजक एवम् बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार पिपरा अस्पताल चोक र बैरिया सिमलपानी चोकबाट सुरु भएको कलशयात्रामा विद्यालय, आमा समूह, महिला समूह, टोल विकास संस्था तथा विभिन्न धार्मिक संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो

कार्यक्रममा संरक्षक सन्त शिरोमणि १००८ स्वामी लोकानन्दबाट आशीर्वचन प्रदान गरिएको थियो भने वृन्दावनबाट आमन्त्रित कथावाचिका कुमारी आरती कृष्णप्रियाले श्रीमद्भागवत कथा वाचनको शुभारम्भ गर्नुभएको थियो।
महायज्ञले धार्मिक आस्था, संस्कार र आध्यात्मिक चेतनाको अभिवृद्धिसँगै गुरुकुल शिक्षाको संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउने आयोजकको अपेक्षा छ। संयोजक पौडेलले महायज्ञमा सहभागी भई पुण्यकार्यमा योगदान गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गर्दै दैनिक सन्ध्याकालीन संगीतमय आरती, भजन तथा कीर्तनमा सहभागी हुन समेत अनुरोध गर्नुभएको छ।









प्रतिक्रिया