पाल्पा ३० बैशाख । पाल्पाका स्थानीय तहले कृषकलाई अनुदानमा धानको बीउ वितरण गर्न थालेका छन् । धानको उत्पादन वृद्धि गर्न जिल्लाका स्थानीय तहले धानको बीउ कृषकका लागि अनुदान कार्यक्रम अघि बढाएका हुन् ।पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ वितरण थालेको छ । नगरका दशवटै वडाबाट निवेदन सङ्कलन गरी ९६४ कृषक तथा समूहलाई सावित्री जातको धान बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । नगरपालिकाले वितरण गर्ने अनुदानको धान यस वर्ष करीब ६ हेक्टर क्षेत्रफलमा लगाइने र अबको एक हप्तामा रामधान र साँवा मन्सुली जातको करीब आठ क्विण्टल बीउ वितरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले अनुदानमा २१ किलो बीउ उपलब्ध गराएपछि करीब दश रोपनी क्षेत्रफलमा धान लगाउने तयारी गरेको वडा नं ४ देवीस्थान बस्ने मिठ्ठु परियारले बताउनुभयो । यस्तै माथागढी गाउँपालिकाले तीन सय घरधुरीलाई ८० क्विण्टल सावित्री, सुख्खा ३, खुमल ४, रामधान र साँवा मन्सुली जातको बीउ वितरण गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर बताउनुहुन्छ । रम्भा गाउँपालिकाले कृषकलाई धानको बीउ वितरण गर्न निवेदन माग गरी सङ्कलन गर्ने कार्य गरिरहेको छ । कृषकको मागका आधारमा १५ दिनभित्र बीउ वितरण गरिने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।यस्तै बगनासकाली गाउँपालिकाले पनि अनुदानमा धानको बीउ वितरण गर्ने कार्य तयारी गरिरहेको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि उन्नत जातको कृषकलाई धानको बीउ वितरणका लागि निवेदन सङ्कलन भइरहेको छ ।
प्रतिक्रिया