अर्थ-वाणिज्य

कालिमाटी तरकारी बजारमा कोरोना परीक्षण



काठमाडौं, २ जेठ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडिटी र पिसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।

  महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो । बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भए÷ नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

         परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुग्नुभएको थियो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पिसीआर परीक्षण गराउनुभएको छ । उपप्रमुखसहित सबैको परीक्षण नतिजा भने आउन बाँकी छ । 

         सो अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “उपत्यकामा  सङ्क्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई सशङ्कित बनाएको छ । यो आशङ्कालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौँ । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौँ ।”

             उहाँले भन्नुभयो, “जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिनोस् । यसले महामारी नियन्त्रणमा सहयोग पु¥याउँछ । सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि विजय प्राप्त गर्न सक्छौँ । यसकारण अहिले कोही पनि काठमाडौँ बाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।”

             उपप्रमुख खड्गी श्रेष्ठले भन्नुभयो, “अहिले जसलाई भेटे पनि शङ्का गर्नुपर्ने अवस्था छ । यो शङ्का हटाउन पनि जनप्रतिनिधिले परीक्षण गराउनुपर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पु¥याउँछौँ ।” इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखाका प्रमुख डा अमृत पोखरेलका अनुसार कम जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडिटी र जोखिममा रहेका ३० प्रतिशतको पिसीआर परीक्षण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

          कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजार बढी मानिसको आवतजावत हुन्छ । तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् । कामपाले आज बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । (रासस)

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६