अर्थ-वाणिज्य

जनप्रतिनिधि पनि व्यावसायिक कृषिमा रमाउन थाले



बाग्लुङ, १२ जेठ । बागलुङको काठेखोला गाउँपालिकाका वडाअध्यक्षहरु कृषि पेशामा जोडिएका छन् । पछिल्लो समय उहाँहरु समाजसेवा गर्दै व्यावसायिक कृषि तथा नगदेबाली लगाउन सम्लग्न  हुनुभएको हो ।   

सदरमुकामको बसाइँ छोडेर गाउँ फर्केका  कृषि कार्ममा लागेका हुन् । स्थानीय तहको निर्वाचनका समयमा सो गाउँपालिकाका वडामा उम्मेदवार बनेका अधिकांश सदरमुकाममा बस्थे । निर्वाचनमा विभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको सङ्ज्ञा समेत दिएका थिए  । तर, तिनै उम्मेदवारमध्ये अधिकांशले चुनाव पनि जिते । अहिले उनीहरुले कार्यभार सम्हालेको तीन वर्ष बित्यो ।

जनप्रतिनिधि चुनिएपछि उनीहरुले जनताको जीविकासँग जोडिएका काम के कति भए भनी खोज्ने हो भने केही वडाका काम प्रशंसनीय छन् । केहीले कनिकुथी सुधारको प्रयास थालेका छन् । कतिपय ठाउँमा खेतबारी मासेरै भए पनि सडक बनेका छन् । विद्यालयका भवन तथा खानेपानी तथा सिँचाइका काम सफलताको सूचीमा छन् । त्योबाहेक उनीहरु आफँैमा आएको परिवर्तन भने तारिफयोग्य छन् । 

विसं २०४६ देखि सो गाउँपालिका–५ बिहुँ कर्लिमबाट बागलुङ बजार झरेर व्यवसायमा लाग्नुभएका शिवप्रसाद कँडेल स्थानीय तहको निर्वाचनमा वडाका उम्मेदवार हुनुहुन्थ्यो । गाउँको जग्गा बाँझाएर बजारमा होटल व्यवसायमा लाग्नुभएका उहाँ नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । चुनावी प्रचारमा विपक्षीले लगाएको तिखो वचनलाई गलत सावित गर्दै उहाँले गाउँघरको बाँझो जमिनमा खेती गर्न थाल्नुभएको छ  । केही जमिनमा तरकारी र फलफूल लगाउनुभएको छ भने ३० रोपनीमा धान रोप्न उहाँले ब्याड राख्नुभएको छ । 

        विसं २०६० मा बुबाआमा बजार झरेपछि बाँझो जग्गामा फैलिएको घाँस पन्छाउँदै गर्दा भेटिनुभएका उहाँले भन्नुभयो, “४० मुरी धान फल्छ, खेती गर्न अहिले परिवारसहित गाउँमै छु ।” पछिल्लो समय उहाँ बजारमा कम र गाउँमा धेरै समय बिताउनुहुन्छ ।

        बागलुङ बजारमा बसेर सामुदायिक वन र राजनीतिमा सक्रिय काठेखोला–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने पनि त्यहाँका लागि उम्मेदवार हुनुहुन्थ्यो । लामो समय बजारमै बिताउनुभएका उहाँलाई पनि चुनावका बेला ‘टुरिस्ट’ उम्मेदवारको आरोप लाग्यो । उहाँले आफुलाई लागेको आरोपले पोलेरै  कृषि कर्म थाल्नुभएको छ । नगदेबाली र फलफूल बालीबाट आम्दानी गर्न सकिन्छ भन्दै वडावासीलाई सिकाउने उहाँले दुई रोपनी बारीमा अलैँची खेती गर्नुभएको छ । 

        नमूनाका रुपमा किबीको खेती गरेर वडाका किसानलाई उत्साहित गर्ने पनि उहाँको योजना छ । उहाँको घरछेउमा अहिले किबीका बिरुवाले नयाँ पालुवा हाल्दैछन् । बागलुङ बजारको घरमा लामो समय बिताउनुभएका काठेखोला–६ बिहुँका अध्यक्ष युक्तप्रसाद कँडेल पनि उम्मेवार नै हुनुहुन्थ्यो । उहाँको गाउँमा घर र कृषिबाली त थियो तर अधिकांश बसाइ बजारमै । उहाँ अहिले बजारको घर बेचेर गाउँ फर्किनुभएको छ । बारीभरि सुन्तला बगान बनाउनुभएका उहाँले वडाको कामपछिको समय सुन्तला बगानमा बिताउँनुहुन्छ ।

        उहाँहरुजस्ता काठेखोलाका अधिकांश जनप्रतिनिधि समय र राजनीतिले फेरो मारेपछि गाउँ फर्किएर बाँझो जमिनमा कृषि कर्म गरेर वडावासीलाई प्रेरित गर्ने ध्याउन्नमा हुनुहुन्छ । गाउँमै सामाजिक परिचालकको काम गर्दै आउनुभएकी काठेखोला–८ लेखानीकी चित्रकला छन्त्यालले चुनावमा लड्ने हुटहुटीपछि खाइपाइ आएको जागिर छोड्नुभयो ।  चुनाव जित्नुभयो । केही समय वडा र घरको काममा समय बिताउनुभएकी उहाँले अहिले भने कृषि कर्म थाल्नुभएको छ । एक लाख २० हजार खर्चेर उहाँले घरअघि प्लाष्टिक टनेल बनाउनुभएको छ । 

        अब त्यही टनेलमा तरकारी फलाएर नमूना तरकारी फार्म बनाउने उहाँको धोको छ । “वडाध्यक्षको तरकारीखेतीले धेरैलाई सिकाउँछ”, काठेखोला–८ कि अगुवा किसान लालकुमारी पुनले भन्नुभयो, “काम त सबैका हुन्छन् तर कृषिलाई भुल्न भएन नि १” तत्काल उद्योग र व्यवसायको सम्भावना नरहेकाले गाउँमा आयआर्जनसँग जोडिने माध्यम कृषि भएको वडाध्यक्ष बताउँछन् । “हामी किसान नै हो, काम गर्नुपर्छ, फुर्सद त कहाँ छ र १”, उहाँले भन्नुभयो । (रासस)

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६