सुदूरपश्चिम

भिटिएम नहुँदा रुकुममा स्वाव संकलन हुन सकेन



रुकुम, २१ जेठ ।  कोरोना भए नभएका बारेमा पत्ता लगाउन गरिने पिसिआर टेष्टका लागि व्यक्तिको स्वाव संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम९पश्चिम०मा स्वाब संकलनमा समस्या भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिए पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन ।

        हाल जिल्लाका ६ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ३०२ जना रहेकामा तीमध्ये निकै कमको मात्र स्वाब संकलन गरिएको छ । अहिलेसम्म क्वारेन्टिनमा रहेका २७७ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबीसकोट नगरपालिकाका ६२, मुसीकोट नगरपालिकाका ३२ तथा सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ । त्यसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

        जिल्लामा भिटिएम नहुँदा क्वारेन्टिनमा रहेका एक हजार २५ जनाको भने अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो । शुरुमा प्रदेशले पठाएका केही भिटिएमबाट स्वाब संकलन गरिएकामा त्यसपछि स्वास्थ्य सेवा कार्यालयले खरीद गरेका भिटिएमबाट स्वाब संकलन गरिएको थियो । 

        कार्यालयले खरीद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका, तिनीहरुको सम्पर्कमा रहेका र देशका विभिन्न ठाउँबाट आएका व्यक्तिको स्वाब संकलन गरिएकामा अहिले भिटिएम नरहेको फोकल पर्सन रावलको भनाइ छ । स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहले भिटिएम खरीद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । 

        जिल्लाका लागि ठूलो मात्रामा भिटटिएम खरीद प्रक्रिया चलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरीद गर्न लागेको र जिल्लाका स्थानीय तहले पनि भिटिएम खरीद गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ  ।

        मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागिएको बताउनुभयो । नगरमा करीब तीन सय व्यक्ति क्वारेन्टिनमा छन् । तीमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । (रासस)

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६