काठमाडौं, २३ जेठ । निजी विद्यालयका संचालकहरुले असार १ गतेदेखि विद्यार्थी भर्ना गर्ने तयारी सुरु गरेका छन् । प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाहरुको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका हुन् । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको थियो । समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने बताइएको छ ।
छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले असार १ बाट विद्यार्थी भर्नाका विषयमा सहजीकरण गर्नुपर्ने माग राखेको बताउनुभयो । प्याब्सन पदाधिकारीहरुले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि पनि स्पष्ट पार्न आग्रह गरेका छन् । कोरोनाको विश्वव्यापी प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी विद्यालय गएर अध्ययन गर्ने अवस्था छैन ।
प्रतिक्रिया