पर्यटन

बृहत लुम्बिनी गुरुयोजना अन्तर्गत विहार क्षेत्रको अध्ययन सुरु



लुम्बिनी, ४ असार । बृहत लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत बाँकी प्लटहरु (विहारहरु) को वस्तुस्थितिको अध्ययन, अवलोकन तथा प्रतिवदेन लेखन कार्य सुरु गरिएको छ ।  लुम्बिनी विकास कोषको बोर्ड बैठकबाट गठित बाँकी रहेका बिहार निर्माणको अवस्था अध्ययन उप–समितिले कामलाई तीव्रता दिएको छ ।  बाँकी रहेका ४० वटा विहार तथा सम्झौता गरिएका ३ वटा होटेलहरुकोे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारिने छ । ३ सदस्यीय उप समितिले एक हप्ताभित्र बाँकी रहेका विहारहरुको अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य तथा प्रतिवेदन लेखन उपसमितिका संयोजक राजेश ज्ञवालीले बताउनुभयो । ज्ञवालीले बाँकी रहेका विहार निर्माणको वास्तविक अवस्था तथा लुम्बिनीमा रहेका विहारहरु बृहत लुम्बिनी गुरुयोजनाको मापदण्ड भित्र रहे नरहेको वास्तविक अवस्थाका साथै निर्माण कार्य सुरु नै नगरेका विहारहरुको स्थितिको प्रतिवेदन पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाइने बताउनुभयो । ज्ञवालीले प्रतिवेदनमा दिइने सल्लाह सुझाव मन्त्रालयले कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको यसले प्रतिवेदनको महत्व झनै बढ्ने बताउनुभयो । 

        लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रतिवेदन लेखन उप–समितिका सदस्य सुरेन्द्र मुनी शाक्यले प्रतिवेदनले लुम्बिनीमा बाँकी रहेका विहारहरुको वास्तविक अवस्था स्पष्ट हुने हुँदा प्रतिवेदन तयार पार्न लागेको बताउनुभयो । शाक्यले प्रतिवेदनमा विहारहरुको हालको अवस्था उल्लेख हुने हुँदा प्रतिवेदन महत्वपूर्ण रहने बताउनुभयो । लुम्बिनी विकाष कोषका पार्षद् सदस्य बैजनाथ साहनीले प्रतिवेदन तयार हुनु महत्वपूर्ण भएकोले प्रतिवेदन थन्काउने भन्दा पनि प्रतिवेदनमा दिइने सुझाव सल्लाहहरु कार्यान्वयन हुनुपर्ने बताउनुभयो । प्रतिवेदन लेखन समितिमा मन्त्रालयका प्रतिनिधि उपसचिव दुर्गा भुर्तेल समेत रहनु भएको छ ।  प्रतिवेदन तयार पार्न विशेष सहयोगीको रुपमा लुम्बिनी विकास कोषका कर्मचारी खगेन्द्र काफ्ले र कृष्ण प्रसाद पौडेलले कार्य गर्नुभएको छ । 

        भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी क्षेत्रको संरक्षण गरी विश्वभर चिनाउने उद्देश्यले सुरु गरिएको लुम्बिनी विकास गुरुयोजना ४ दशकसम्म पनि अझै पूरा हुन सकेको छैन । सन् १९७८ मा सुरु गरिएको गुरुयोजना १४ वर्ष भित्र पूरा गर्ने महत्वकांक्षी लक्ष्य राखिएको थियो ।  गुरुयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कतिपय संरचनाहरु निर्माण भइसके पनि कतिपय महत्वपूर्ण संरचनाहरुको निर्माण कार्य अझै बाँकी रहेको छ । गुरुयोजनाको अझै करिब २० प्रतिशत काम बाँकी रहेको लुम्बिनी विकाश कोषले जनाएको छ ।

        जापानी बास्तुकलाविद् केन्जो टाँगेको डिजाइनमा अघि बढाइएको गुरुयोजना अन्तर्गत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्टिक जोन र न्यु लुम्विनी भिलेजका रुपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीमा हाल विभिन्न देशका छुट्टाछुट्टै मन्दिरहरु रहेका छन् भने कतिपय देशका मन्दिरहरु निर्माणको क्रममा रहेका छन् । विशिष्ट धार्मिक महत्व बोकेको स्वदेशी एवं विदेशी सबैको आकर्षणको थलो बृहत लुम्बिनी गुरुयोजना जतिसक्दो चाडो सम्पन्न गर्नु अहिलेको हाम्रो राष्ट्रिय आवश्यकता हो ।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६