तुलसीपुर, १६ असार ।दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उहाँले बताउनुभयो ।
अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ । विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उहाँको भनाइ छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न २५ लाख बजेट विनियोजन गरेको बताइएको छ । रासस
प्रतिक्रिया