भैरहवा २५ साउन । कोरोना भाइरसको संक्रमण फैलिन नदिन रुपन्देहीमा स्थानीय प्रशासनले कडाई गर्ने भएको छ। रुपन्देहीमा बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न पाइनेछ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आइतबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसीसीएमसीले पूर्व भएका निर्णयहरुको समीक्षा गर्दै रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा समुदायस्तरमा समेत कोरोना भाइरसको संक्रमण फैलिन नदिन सो निर्णय गरेको हो।
त्यस्तै जिल्लाका विभिन्न पालिका अन्तर्गत कोरोना संक्रमण भएको देखिएकोले प्रत्येक पालिकामा एक क्वारेन्टाइन व्यवस्था गर्न समेत अनुरोध गरेको छ। बैठकले साप्ताहिक रुपमा लाग्ने हाटबजार सञ्चालन नगर्न स्थानीय पालिकालाई अनुरोध गर्ने, बढी भिडभाड हुने प्रकृतिका कार्यालयहरु र अन्तराष्ट्रिय सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएकाको पिसीआर परिक्षणका लागि आवश्यक सामाग्री उपलब्ध गराउन केन्द्रिय संकट व्यवस्थापन केन्द्र सँग अनुरोध गर्ने जस्ता निर्णय गरेको छ।
यस्तै संक्रमण दर तीव्र गतिमा बढ्दै गएको अवस्थामा रुपन्देही पनि जोखिममा रहेकोले भारतसँग प्रत्यक्ष सीमाना जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आवतजावत पूर्णतया रोक लगाउने, र बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर आदि कार्य बन्द गराउने निर्णय भएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।
बैठकमा उद्योगी व्यवसायीका प्रतिनिधी, जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला समन्व्य समिति, पालिका प्रमुखहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया