काठमाडौं ११ असोज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको रिपोर्ट सम्बन्धीत व्यक्तिलाई नै उपलव्ध गराउन निर्देशन दिएको छ । यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरेकोमा अव भने नेगेटिभ वा पोजेटिभ जुन नतिजा आएपनि परीक्षणको रिपोर्ट सम्बन्धीत व्यक्तिलाई नै उपलव्ध गराउन निर्देशन दिएको हो ।
आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको जानकारी दिनुभयो । उहाले संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि प्रयोगशालले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने विश्वास व्यक्त गर्नुभयो । यता नेपालमा आइतबार थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५२४ महिला र १०४९ पुरुष गरि थप १५७३ जनामा कोरोना पुष्टि भएको हो । आइतबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष गरि ६३३ जना, भक्तपुरमा २१ महिला र ५१ पुरुष गरि ७१ जना र ललितपुरमा ४३ महिला र ६१ पुरुष गरि १०४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप १० जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १९०१९ जना रहेका छन् । आइतबार ८८५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३८९८ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १०,६९८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ८३२१ जना रहेका छन् । त्यस्तै हालसम्म ९ लाख ८८ हजार ३२७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया