प्रदेश

कडा कारबाहीको प्रावधानसहित अध्यादेश जारी एसिड आक्रमण गर्नेमाथि



असोज १२ ,काठमाण्डौ – तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ जारी भएको छ । एसिड आक्रमण गर्नेमाथि कडा कारबाहीको व्यवस्थासहित सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो । सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको हो ।

गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको थियो । अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ । यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ । यसअघि सरकारले एसिड पीडितको निःशुल्क उपचार हुने बताइसकेको छ । यस्तै उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भइसकेको छ । यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने छ ।

यस्तै पीडितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ र यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउने छ । त्यसैगरी क्षमता विकाससम्बन्धी तालिम र सीपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउने छ भने उद्योग मन्त्रालयले योग्यताअनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ । त्यसैगरी व्यावसायिक कृषि खेती गर्न चाहे सहुलियत कर्जामा कृषि मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले कर्जा उपलब्ध गराउने छ ।

    राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ सँगै फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन अध्यादेश २०७७ पनि जारी गर्नुभएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।   

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६