देउखुरी ५ कात्तिक । प्युठानको स्वर्गद्धारी आश्रमको दाङ देउखुरी क्षेत्रमा एकहजार ५० बिगाहा जग्गा छ । उक्त जग्गाको उपभोग गर्ने बास्तबिक किसानले पाउनुपर्ने मोहयानी हकको जग्गा पाएका छैनन । पूस्तौ देखि जग्गा जोतभोग गर्दे आइरहेका किसानले जग्गा पाउनुको साटो विस्तारै विस्थापति हुँदै जानुपर्ने अवस्थाको सिर्जना भएको छ ।
दाङको उच्चानिम्बु,अर्नहवा,चैलाही,बनगाउँ,झिगौरा,रामपुर,पलासे,ढाडेनी,नैनवार,पड्ढामा रहेको हजारौ विगाहा जग्गाको स्वामित्व आश्रमको नाममा भएपनि किसानले बर्षै सम्म खनजोत गर्दै आइरहेको जग्गा नपाउँद्या स्वर्गद्धारी आश्रम र किसानहरुको विचमा सधै सम्बन्ध सकरात्मक हुन सकेको छैन । दाङ देउखुरीमा रहेको यतिधेरै जग्गाको सही व्यवस्थापन नह्ुँदा एकातिर किसानहरु पटक पटक संघर्ष गर्नुपर्ने बाध्यता छभने अर्को तिर आश्रम संचालन गर्न समस्या छ ।
बनगाउँ, प्युठान,घोराही गरी सातसय बढी गाईलाई आवश्यक पर्ने दानापानी परालको लागि सहयोग माग्नुपर्ने बाध्यता छ । किसानहरुले जग्गा जोतभोग गर्दा पूस्ता वित्दा समेत अधिकार नपाएको दाबी गर्छन । दाङको लमही नगरपालिका वडा नम्बर ७ उच्चानिम्बुका बिष्णुप्रसाद चौधरीले स्वर्गद्धारी आश्रमको पाँच बिगाहा जग्गा जोतभोग गर्दै आइरहेको बर्षौ भयो । बिष्णु चौधरी सम्म आउँदा उक्त जग्गा जोतभोग गर्ने तीनपुस्ता पुगेको छ । विष्णु चौधरीले मोही बाफत पाउनुपर्ने जग्गा पाउनुभएको छैन ।
स्वर्गद्धारी आश्रमको जग्ग जोतभोग गर्ने किसान र स्वर्गद्धारी आश्रम विच कुत बुझाउने सर्तमा जोतभोग गर्ने सहमति भएको हो । किसानले स्वर्गद्धारी आश्रम प्रशासनबाट २०६६ सालसम्म बुझाउन पर्ने कुत बुझाइसकेपछि पछी बुझाउन नपर्ने भनेकोले आफुहरुले नवुझाएको बताउँछन । लमही नगरपालिका वडा नम्बर ३ विनोद चौधरीले आश्रमले २०६६ सालसम्मको कुत बुझाएपछी बुझाउन नपर्ने भनेपछि आफुहरुले नवुझाएको बताउनुभयो ।
स्वर्गद्धारी आश्रमको बजार आसपासका क्षेत्रमा रहेका जग्गामा ठूला टूला भवनहरु बनेका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको ४० बिगाहा भन्दा बढी जग्गामा अहिले ठूला ठूला भवन सहित बजार नै बनेको छ । जोतभोग गर्ने किसानलाई प्रभावमा पारी रकम तिरेर भूमाफियाबाट भित्रभित्रै कारोबार भएको आश्रम प्रशासन पनि स्विकार्छ । यसरी भुमाफियाका कारण बास्तविक जोतभोग गर्दै आइरहेका किसान अप्ठेरोमा परेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष शहदेव थारुले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,लामो समय सम्म आफ्नो नाममा जग्गा नहुने,जोतभोग गरेर पुस्तौँ विताउनु परेपछि न्युन मुल्य लिएर किसानले बिक्री गरेको हुनसक्छ,यसबाट स्वयम बास्तविक किसान विस्थापित हुने हुनेखानेले उपभोग गर्ने भएको छ । स्वर्गद्धारी आश्रम संचालन गर्न समस्या हुनेथालेपछि आश्रमले किसानले जोतभोग गर्दै आइरहेको मोही नभएको घरखेत जग्गा छोडन आग्रह गरेको छ । स्वर्गद्धारी आश्रमका सदस्य डा. धु्रव श्री ले मोही लागेको बाहेकको जग्गा आश्रमलाई छाडीदिन आग्रह गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, कोरोनाका कारण स्वर्गद्धारी आश्रमको नियमित खर्च,गाइपालन खर्च देखि अन्य खर्च संचालन समस्या हुन थालेपछि यस्तो आग्रह गरेका हौ । यस्तै संचालक ध्रुव्र श्रीले आश्रमको जग्गा बिक्री वितरण नभएको स्पष्ट पार्दै तीनसय ५० जनाको संख्यामा रहेका मोही किसानहरुलाई जग्गा उपलव्ध गराएर व्यवस्थापन गर्न आफुहरु पनि लागि परेको बताउनुभयो । अहिले आश्रम दुइ करोड ऋणमा रहेको जानकारी दिदै उहाँले दैनिक खर्च जुटाउन र गाइ लाई आवश्यक पर्ने दानापानी जुटाउनै समस्या भएको बताउनुभयो । आश्रमको नाममा हजारौ बिगाहा जमिन छ,आश्रम चलाउन ठूलो समस्या छ, किसानको पनि उस्तै समस्या छ, श्रीले भन्नुभयो ।
यसैविच स्वर्गद्धारी गुठिपिडित किसान संघर्ष समिति दाङले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी किसानले जोतभोग गरेको जग्गा खोस्ने काम नगर्न आग्रह गरेको छ । समितिका अध्यक्ष शहदेव थारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजना गरिएको सम्मेलनमा अध्यक्ष थारुले लामो समय देखि किसान समस्या रहेको र मोही हक समेत नपाएको गुनासो गर्नुभयो । पत्रकार सम्मेलनमा किसानहरुले आफुहरुले पाउनुपर्ने मोहयानी हक वाफतको जग्गा दिलाउन आग्रह समेत गरिएको छ ।
संघर्ष समितिका सचिव भरत गिरीले गुठी विधेयक दाङका किसानकोे हकमा सकरात्मक भएको भन्दै अविलम्ब गुठी विधेयक पारित हुनपर्ने बताउनुभयो । किसानहरुको मागमा थारु कल्याणकारी सभा दाङ र भूमि अधिकार मञ्च दाङले समर्थन गरेको छ ।








प्रतिक्रिया