दाङ २५ असोज ।लुम्विनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने भएको छ । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाको संगमस्थलका रुपमा रहेको समथर भूभागमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने तयारी सुरु भएको राप्ती गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको वडानम्वर ७ को भानपुर, सोट्की सिसहनिया, अर्नहानपुर, वडानम्वर ३ को वसन्तापुर क्षेत्रमा पर्ने २ सय १९ विगाह क्षेत्रफलमा बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्ने कार्यको थालनी भइसकेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभयो । राप्ती र गढवा गाउँपालिकाको मध्यविन्दूमा रहेको २ सय १९ विगाहा क्षेत्रफलको ऐलानी जग्गालाई रङ्गशालाका लागि प्रयोग गर्ने तयारी स्वरुप जग्गा संरक्षणको कार्यको थालनी गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा प्रदेश सरकारले ६५ लाख बजेट विनियोजन गरेको बताउँदै प्रवक्ता चौधरीले जग्गाको विवादका कारण बजेट खर्च नभएको जानकारी दिनुभयो । फुटबल, क्रिकेट, एथलेक्टिस लगायतका सबै खेल सञ्चालन गर्ने उद्देश्यले रङ्गशाला निर्माण गर्न लागेको भन्दै उहाँले पहिलो चरणमा ३० विगाह क्षेत्रफलको जग्गामा रङ्गशाला निर्माणका लागि डिपिआर निर्माण गरेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा पेश गरिसकेको जानकारी दिनुभयो ।
यसैबीच देउखुरीको लमहीमा पश्चिम नेपालकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तीव्र गतिमा निर्माण भइरहेको छ । मैदानको करिब ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । गेट निर्माणदेखि पिचको गुणस्तर र पिचमा दुबो उमार्ने काम आइसिसीको मापदण्ड अनुसार नै भइसकेको जनाइएको छ । लमही नगर विकास समितिका अनुसार मैदान निर्माणका लागि लमही नगरविकास समिति र राष्ट्रिय खेलकुद परिषद्ले पटकपटक गरी चार करोडभन्दा बढी खर्च भइसकेको छ । गेट निर्माण, मैदानलाई समथल बनाउने, तारबार बेर्ने, ढल निकासी, डिप बोरिङलगायतका काम भइसकेको छ ।
प्रतिक्रिया