काठमाडौं २८ असोज। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका आन्तरिक समस्या सुल्झ्याउन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लागातार छलफल भइरहेको छ । मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा दुई नेताबीच सहमति नहुँदै कर्णाली प्रदेशको विवाद निस्किएपछि केही दिनयता नेताहरु अन्य विषय छाडेर कर्णाली प्रदेशको विवाद मिलाउन लागि परेका थिए ।
मंगलबार दुई नेताबीच कर्णालीको समस्या समाधानका लागि प्रदेश पदाधिकारीहरुलाई असोज २९ गते काठमाडौ झिकाएका दुई नेताले सो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा बुधबार बिहान पनि छलफल गरेका छन् ।बुधबार बिहान सवा नौ बजेदेखि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले छलफलको विषयबारे आफुलाई धेरै कुरा थाहा नभएपनि पार्टीभित्र देखिएका समस्याका विषयमा कुराकानी भएको हुनसक्ने बताए ।
‘कर्णालीमा देखिएको समस्या र पार्टी एकता लगायतका विषयमा कुराकानी भएको हुनसक्छ’ सापकोटाको भनाई छ ।गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्देशनअनुसार यही असोज महिनाभित्र नेकपाको एकताको बाँकी काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
तर दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन् ।असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना लयाउन निर्देशन दिएको थियो । आगामी चैतमा महाधिवेशन गर्ने योजनामा रहेको नेकपाले यही कार्तिक दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएको छ ।









प्रतिक्रिया