रुपन्देही २५ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुलुकका अन्य पालिकाले भन्दा नयाँ प्रकारका काम शुरु देखि नै गर्दै आएको छ । सबैभन्दा पहिला स्थानीय कानुन निर्माण गरेर प्रधानमन्त्रीलाई हस्तान्तण गर्नेवाट शुरु भएको श्रृखलामा पछिल्लो पटक नगरका सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु गर्ने सम्म आई पुगेको छ । संघिय सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय स् एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको प्रेस सल्लाहकार विपि गौतमले जानकारी दिनु भयो ।
विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएको मेयर बासुदेव घिमिरेले प्रेसपाटीलाई वताउनु भयो । नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई र पोषणमा प्रबद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको अवधारणा आएको हो ।
कार्यक्रम अनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् । यस्तै उनीहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भए/ नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।
प्रतिक्रिया