पर्यटन

दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम



काठमाडौँ १७ मंसिर । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ । कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ ।

नियमानुसार सम्झौताको पूरा अवधि कामपाले कुर्नुपर्छ काफ्लेले भन्नुभयो । सम्झौताअनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन । अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । समग्रमा १५ प्रतिशतभन्दा बढी काम भएको छैन । दैनिक १०० कामदारले काम गरिरहेका छन् । कामपाले जमिनमुनिको काम सम्पन्न गर्नका लागि नियमानुसार गत वर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ ।

समयमा नै सक्ने गरी काम गर्ने भए अहिलेसम्ममा आठ तलाको काम सम्पन्न गरिसक्नुपर्ने हो । उक्त टावर जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो ।  कम्पनीले  निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको हो । सम्झौतानुसार आगामी साउन महिनासम्ममा सक्नुपर्ने हो, तर त्यो अवस्था भने छैन ।

सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो ।

नियमानुसार सम्झौतानुसार निर्धारित समयमा नै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । निर्माणको लागत रु चार अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडी पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लोघर नेपाली कला संस्कृति झल्किने खालको हुनेछ । टावर निर्माण भएर सञ्चालनमा आए पाँच हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने बताइएको छ । 

समयमा नै काम सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते  उपराष्ट्रपतिबाट भवनको शिलान्यास भएको थियो । नियमानुसार निर्माण कम्पनीले काम गरेमा पहिले दिएको भन्दा एकपटक एक वर्षको लागि समय थप गर्न मिल्ने छ ।दृश्यावलोकन स्तम्भ निर्माण गर्नका लागि बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुलामञ्चमा सारिसकिएको छ । केही समयका लागि तय गरिएको बसपार्क साँघुरो हँुदा यातायातका साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् ।  

प्रकाशित : १७ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६