काठमाण्डौ ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको छ ।परिषद्का अध्यक्ष ओलीले बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन । आज बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरि बैठक बोलाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित हुनु भएको न्यौपानेले बताउनुभयो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो । तयारी नपुगेर बैठकमा गएको बताइए पनि नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा आजको बैठकमा अनुपस्थित भएको बुझिएको छ ।यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत संवैधानिक निकायमा विभिन्न पद खाली छ ।यी पदपूर्तिका लागि भन्दै आजको बैठक बोलाइएको थियो ।








प्रतिक्रिया