काठमाडौं, ३ पुस । संवैधानिक परिषदसम्बन्धी सरकारले जारी गरेको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पेसी तोकिएको छ ।अधिवक्ताहरु अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदलाई विपक्षी बनाएर बुधबार दायर गरेको छुट्टाछुट्टै रिटको शुक्रबार पेसी तोकिएको हो ।उक्त रिटको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म बोलाइएको बैठक स्थगित भएपछि गत मंगलबार बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।
तर, सत्तारूढ दलभित्रैबाट पनि चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताइसकेका छन् । सरकारले ल्याएको संवैधानिक परिषद ९काम, कर्तव्य र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ मा प्रधानमन्त्रीसहित संवैधानिक परिषदका पदाधिकारीको मौजुदा संख्याको बहुमत भए परिषद बैठक बस्ने व्यवस्था छ ।अध्यादेशको नयाँ व्यवस्था अनुसार परिषदका ५ जना मध्ये ३ जनाको उपस्थितिमा बैठक बस्न सक्नेछ र बहुमत अर्थात् दुई जनाले निर्णय गर्न सक्ने छन् । यसअघि जारी भई फिर्ता लिइएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो ।








प्रतिक्रिया