काठमाण्डौ १६ पुष । आज काठमाण्डौको तापक्रम एक डिग्री सेल्सियसभन्दा तल झरेको छ । काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम शून्य दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज जुम्लाको तापक्रम माइनस आठ दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । यस्तै दिपायलको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस र वीरेन्द्रनगरमा एक दशमलव नौ डिग्री सेल्सियसमा झरेको छ । पश्चिमी तराईमा हुस्सु तथा पहाडी र हिमाली क्षेत्रमा बादल लागेको कारण तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
चिसो बढिरहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने भने भने बाँकी ठाउँको मौसम सफा रहने छ । तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया