काठमाडौं २३ पुस । शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी (काठमाडौं) सिफारिसमा परेका छन् ।यसैगरी सदस्यहरुमा डिल्लीराम रिमाल (काठमाडौं) र मावि शिक्षकबाट सेवानिवृत्त नन्दकुमारी महर्जन (काठमाडौं) सिफारिसमा परेको शिक्षा मन्त्रालय स्रोतले बतायो ।यसअघि सरकारले लोक सेवाका अध्यक्ष उमेश प्रसाद मैनाली नेतृत्वको छनोट समितिलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी सिफारिस गर्न जिम्मा दिएको थियो ।
मैनाली नेतृत्वको समितिले सुरुमा आकांक्षीहरुबाट प्राप्त दरखास्त र अवधारणापत्रको आधारमा अध्यक्षमा ४ जना र सदस्यमा ६ जनाको संक्षिप्त सूची तयार पारेको थियो ।उनीहरुको व्यवसायीक कार्ययोजना, अन्तर्वार्तालगायत परीक्षाबाट अध्यक्षमा रेग्मी तथा सदस्यहरुमा रिमाल र महर्जन उत्तीर्ण भएका हुन् । अब उनीहरुलाई नियुक्त गर्न शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने छ ।
एक अध्यक्ष र दुई जना सदस्य (एक महिला अनिवार्य) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।अध्यक्ष पदका लागि खगराज पौडेल (बागलुङ), लक्ष्मीराम पौडेल (काठमाडौं )र विनोद केसी (ललितपुर) पनि आकांक्षी थिए । यसैगरी सदस्य पदमा गिता शिवाकोटी खरेल (काठमाडौं), झमक प्रसाद शर्मा (भक्तपुर), पवित्रा सुवेदी (सुर्खेत) र भक्तबहादुर ढकाल (सुर्खेत)ले पनि आवेदन दिएका थिए ।
आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल शिक्षक सेवा आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।








प्रतिक्रिया