दाङ ८ माघ ।लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ ।
स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजनाअनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ । प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्नेलगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताउनुभयो ।
तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउ रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताउनुभयो । राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई देशकै नमुना अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने गरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो ।
व्यवस्थित सहर बनाउनका लागि चीनको सिचवान राज्यसँग सहकार्य थालिएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । अब देउखुरीबाट प्रदेशका धेरै कामहरु गर्ने गरी काम थालिएको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । प्रदेशसभाको आउने बैठक देउखुरीमै गर्ने तयारी प्रदेशसभा सचिवालयको गरिरहेको शर्माले बताउनुभयो । माघ १० गतेसम्म लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय देउखुरीमा उद्घाटन गर्ने गरी काम गर्न मुख्यमन्त्री पोख्रेल लाग्नुभएको छ ।
प्रतिक्रिया