काठमाडौं १६ माघ । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् ।अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले भने, ‘तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म हुन्छ र यो चरणमा बालुवाटार घेराउदेखि प्रतिगमनकारी मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने, उनीहरुका गाडी चल्न नदिनेलगायत कार्यक्रम हुनेछन् ।’ यसक्रममा पार्टीले आयोजना गर्ने कार्यक्रममा पनि सक्रिय सहभागी हुने उनले बताए ।अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।








प्रतिक्रिया