अर्थ-वाणिज्य

कोरोना खोपमा दाङ,पाल्पा र कपिलवस्तु अब्बल दर्जामा सूचीकृत



दाङ २६ माघ । कोरोना विरुद्ध खोप लगाउने पहिलो चरणमा लक्ष्य भन्दा बढी खोप लगाएर लुम्विनी प्रदेशका  दाङ ,पाल्पा र कपिलवस्तु अब्बल दर्जामा सूचीकृत भएका छन् । ती जिल्लाले लक्ष्यको क्रमश ११९,११० र १०९ प्रतिशत बढी खोप लगाएर अब्बल दर्जामा सूचीकृत भएका हुन् । जस अनुसार दाङमा लक्ष्य भन्दा साढे ५ सय बढीले खोप लगाएका छन् । लक्ष्य भन्दा बढी खोप लगाउनेमा दाङ अगाडि रहेको छ। दाङमा लक्ष्यको १ सय १९ प्रतिसतले खोप लगाएका छन्। जिल्लामा २ हजार ९ सय ७० जनालाई खोप लगाउने लक्ष्य राखीएको थियो।

    तर लक्ष्य भन्दा ५ सय ७६ बढी अर्थात ३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्। दाङमा ३ स्थानबाट खोप लगाउने व्यवस्था गरिएको थियो। दाङपछि पाल्पामा लक्ष्य भन्दा बढीले खोप लगाएका छन्। पाल्पामा २ हजार ४ सय ६० जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा खोप लगाउनेको संख्या २ हजार ७ सय १२ पुगेको छ। पाल्पामा कुल लक्ष्यको १ सय १० प्रतिसतले खोप लगाएका हुन्। यस्तै कपिलबस्तु र पश्चिम नवलपरासीमा पनि कोरोना विरुद्धको खोपको आकर्षण देखिएको छ। कपिलबस्तुमा लक्ष्यको १०९ र पश्चिम नवलपरासीमा १ सय ७ प्रतिसतले कोरोना विरुद्धको खोप लगाएका छन्।

    यी जिल्लाहरुमा खोप लगाउनुपर्ने व्यक्तिहरु लक्षित व्यक्तीको सुचिमा छुटेकाले धेरै भएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोसनलाल चौधरीले बताए।‘पाल्पामा कारागारमा बसेकाहरु लक्ष्यमा परेका थिएनन्’ उनले भने ‘यस्तै प्राथमिकतामा परेकाहरु पनि सुचिमा नपर्दा कतिपय जिल्लामा कोरोना खोप लगाउने लक्ष्य भन्दा बढी भएका हुन्।’

    खोपका सम्बन्धमा संघिय सरकारबाट निर्देशन पनि फरक फरक आउँदा संख्या तलमाथि चौधरीको भनाइ छ। यहि  माघ १४ गते  बाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणको खोप अभियान सकिएको छ। लुम्बिनी प्रदेशमा लक्ष्य भन्दा कमले कोरोना विरुद्धको खोप लगाएका छन्। प्रदेशमा ३४ हजार ५ सय ९५ जनालाई खोप लगाउने लक्ष्य थियो।

    तर २८ हजार ९ सय ५१ जनाले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो लक्ष्यको ८४ प्रतिसत मात्र हो। लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पाँच जिल्लामा लक्ष्य भन्दा बढीले खोप लगाएका छन्। बाँकी ७ जिल्लामा खोप लगाउनेको संख्या लक्ष्य भन्दा कम छ।लक्ष्यको सबै भन्दा कम संख्यामा कोरोनाको विरुद्धको खोप लगाउनेमा बाँके रहेको छ । बाँकेमा ६५ प्रतिसतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन्। जिल्लामा ७ हजार ७ सय जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखीएको थियो। तर ४ हजार ९ सय ६७ जना मात्र खोप लगाउने आए। बाँकेमा २ वटा केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको थियो। 

    यस्तै रुपन्देहीमा ६७ प्रतिसतले मात्र कोरोना विरुद्धको खोप लगाएका छन्। जिल्लामा १० हजार १ सय ५३ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ जार ७ सय ९१ जनाले मात्रै कोरोना विरुद्धको खोप लगाए। ३ हजार ३ सय ६२ जनाको खोप बचेको छ। रुपन्देहीमा ५ स्थानबाट खोप लगाउने व्यवस्था गरिएको थियो। बाँके र नेपालगञ्ज विगतमा कोरोनाबाट बढी प्रभावित जिल्ला हुन। तर कोरोना विरुद्धको खोप लगाउन प्राथमिकतामा परेकाहरुले खासै चासो नदिएको तथ्यांकले देखाएको छ। 

    स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले त्रासका कारण खोप नलगाएको बताए। ‘कतिपयलाई यो ट्रायलको खोप हो लगाउन हुन्न भन्ने लाग्यो। तर यो परिक्षण भइसकेको खोप थियो।’ उनले भने ‘२ जनालाई सामान्य ज्वरो आउनुबाहेक अरुलाई असर गरेन।’ स्वास्थ्यकर्मीहरुले नै डराएर नलगाउँदा कम भएको शाहको भनाइ छ। त्यस बाहेक पालिकाहरुले आफूखुशी बढी नाम दिनु पनि अर्को कारण रहेको छ।

    स्थानिय तहका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइका कर्मचारीलाई पालिकाले व्यवस्थापन गरेर खोप केन्द्रमा ल्याउनुपर्नेमा केही पालिकाले नल्याउँदा पनि खोप बचेको शाहले सुनाए। ‘स्थानिय तहले गाडी व्यवस्थापन गरेर आएकाहरुले खोप लगाए। केहीले गाडिको व्यवस्थापन पनि गरेनन्।’ उनले भने ‘गाडीको व्यवस्था नहुँदा आफ्नै साधन भएकाले आएर लगाए बाँकी लगाउन आएनन्।’ 

    तर लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले खोप प्रति डराएर नभई लक्ष्य तोक्दा तलमाथि भएको बताए। चौधरीले केही जिल्लाहरुले लक्ष्य तोक्दा बढी संख्या तोकेको बताए। ‘स्वास्थ्यकर्मीहरु त धेरैले लगाउनुभएको छ । डराएर नलगाएको भन्ने केही मात्र होला।’ उनले भने ‘केही जिल्लाहरुले लक्ष्य तोकेर पठाउँदा बढी पठाउनुभयो।’ 

    पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउने प्राथमिकतामा औषधि व्यवसायी परेका छैनन्। तर बाँके र रुपन्देहीबाट खोपको लागि औषधि व्यवसायीहरुलाई पनि तोकेर पठाएको चौधरीले बताए। ‘उहाँहरु अलि कन्फ्युजमा पर्नुभएछ। निजी औषधि पसलहरुको पनि पठाइदिनुभएछ।’ उनले भने ‘बाँके र रुपन्देही प्रदेशको मेडिकल हब पनि हो।

    औषधि व्यवसायीहरु पनि धेरै लिस्टमा परे।’ लक्ष्य भन्दा कम खोप खपत भएका अन्य जिल्लाहरुमा अर्घाखाँचीमा ६९ प्रतिसत, पूर्वी रुकुममा ८२ प्रतिसत, रोल्पामा ९१ प्रतिसत, गुल्मीमा ९३ प्रतिसत र बर्दियामा ९८ प्रतिसतले खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६