बुटवल, २९ माघ । बुटवल उपमहानगरपालिकाले गरिब परिवार पहिचान गर्न तथ्यांक संकलनका लागि अहिले उपमहानगरका १९ वटै वडामा टोली खटाएको छ । तोकिएको निर्देशिकाबमोजिम काम गर्नेगरी प्राविधिकसहितको टोली अहिले बुटवलका टोलटोलमा खटिएको छ । संघीय सरकारले बनाएको गरिव परिवार पहिचान तथा परीचय पत्र वितरण निर्देशिका, २०७५ बमोजिम काम गर्नेगरी उपमहानगरले प्राविधिकसहितको टोली खटाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
निर्देशिकाबमोजिमका यथार्थ विवरण संकलन गर्नका खटाइएको टोलीले अहिले काम गरिरहेको छ । गरीब वर्गलाई वर्गीकरण गर्ने त्यसअनुसार परिचयपत्र वितरण गर्ने र विभिन्न सिपमूलक कार्यक्रममार्फत उनीहरुको आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यो अभियान सुरु भएको उनले बताए ।काममा खटिएको टोलीलाई सही र यथार्थ विवरण संकलन गर्न र नगरबासीलाई पनि आफ््नो सही र यथार्थ विवरण दिएर राष्ट्रिय अभियानमा सहयोग पु¥याउन उपमहानगरले आग्रह गरेको छ ।
‘यथार्थ विवरणमा आधारित तथ्यांक संकलन गर्न र कुनै पनि प्रकारको कमीकमजोरी नगर्न निर्देशन गर्दै साधान स्रोत सहित काममा खटाइएको उपमहानगरका प्रमुख सुवेदीले बताए । सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्न अहिलेको तथ्यांक संकलनको काम उपयोगी हुने प्रमुख सुवेदीको विश्वास छ । बुटवल उपमहानगरले विपन्न समुदाय लक्षित गरेर मेयर युवा इलम, उपप्रमुख महिला उद्यमशिलता विकास कार्यक्रमलगायतका मुलुककै नमुना कार्यक्रम सञ्चालन गरेको छ ।
सिप र इलमयुक्त नागरिक भएको बुटवल बनाउने संकल्पका साथ प्रभावकारी काम भइरहेको उल्लेख गर्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल नगरलाई बेरोजगारशून्य नगर बनाउने संकल्पका योजना तय गरिएको बताइन् ।नगरबासीलाई सिप सिकाउने, सिपअनुसारको कामको प्रवन्ध मिलाउने, सिप अनुसारको पेशा, व्यवसाय वा उद्यम गर्न चाहनेलाई पनि सहयोग गर्नेगरी सञ्चालन भएको उपप्रमुख आचार्यको भनाइ छ ।
करीब पाँच महीनाको समय अवधिमा यथार्थ विवरण संकलन गरेर बुझाउनेगरी गणकहरुसंग उपमहानगरले कार्यसम्झौता गरेको हो । तथ्यांक संकलनमा जाने गणकहरुलाई बुटवल उपमहानगरले पाँच दिने अभिमुखीकरण र विशेष अनुशिक्षण समेत गराएको र कामलाई प्रभावकारी बनाउन प्राविधिक तहको तालिम समेत दिइएको उपमहानगरका सामाजिक महाशाखा प्रमुख तुलसा अर्यालले बताइन् ।१९ वडामा खटिएका गणकहरुलाई युवराज पन्थी, सुदा गाहा र नवीना क्षेत्रीले सुपेरिवेक्षण गरिरहेका छन् । उनीहरु मातहत २७ जना गणकहरुले वडा र टोल बाँडेर लगत संकलनको काम गरिरहेका छन् ।
सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य लिएसँगै गरीब घरपरिवार पहिचान गर्ने काम थालिएको हो । यसअघि संघीय सरकारले पहिलो चरणमा छानिएका २५ जिल्लाका १२ लाख २४ हजार चार सय १७ घरपरिवारमध्ये ३ लाख ९१ हजार ८ सय ३१ घरधुरीलाई गरिब परिवार पहिचान गरेको थियो ।पहिलो चरणको अभियानमा केही त्रुटि भएपछि यसपालि प्राविधिक तहको तालिम नै दिएर लगत संकलनमा खटाइएको हो । यसपालि सम्बन्धित क्षेत्रका स्थानीय तहसमेतको सहभागितामा यो अभियान सञ्चालन गरिएको छ । रुपन्देहीमा बुटवल उपमहानगरसहित यहाँका अरु पालिकाहरुमा पनि अभियान सुरु भएको छ ।
प्रदेश, गाउँपालिका, घरपरिवारको परिचयात्मक विवरण, परिवारमूलीको विवरण, नाम, नागरिकता नं, आवाससम्बन्धी विवरण, पारिवारिक सम्पत्ति विवरणलगायत विषयमा सूचना संकलन गरिरहेका छन् । त्यसको प्रशोधन गरी संघीय सरकार मातहतको सम्बन्धित मन्त्रालयले नतिजा प्रकाशन गर्ने छ । सर्भेक्षणपछि प्राप्त हुने परिणामका आधारमा गरीब वर्गको हितमा हुने गरी आयआर्जन, सिपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्तालगायत सामाजिक संरक्षणका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।








प्रतिक्रिया