कपिलवस्तु १७ भदौं
स्वास्थ्य सेवा प्रवाह, व्यवस्थापन र कार्यसम्पादनका आधारमा कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्लामै उत्कृष्ट बनेको छ। आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वास्थ्य समीक्षा मूल्याङ्कनमा बाणगंगा नगरपालिका ७७ दशमलव ०२ अङ्क प्राप्त गर्दै प्रथम भएको हो।
स्वास्थ्य कार्यालय कपिलवस्तुले तय गरेका कुल २८ वटा सूचकलाई सय पूर्णाङ्कमा मूल्याङ्कन गर्दा बाणगंगाले सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो।

महाराजगञ्ज नगरपालिका ७० दशमलव ०१ अङ्कसहित दोस्रो र कृष्णनगर नगरपालिका ६९ दशमलव ४५ अङ्कसहित तेस्रो भएका छन्।

स्वास्थ्य क्षेत्रमा पालिकाबीच देखिएको यो प्रतिस्पर्धाले सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउन स्थानीय तहलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य संस्थाको व्यवस्थापनदेखि औषधि उपलब्धता, खोजपड्ताल, डिजिटल प्रणाली, अभिलेखीकरण, नवप्रवर्तन, समन्वय र कार्यक्रम कार्यान्वयनसम्मका पक्षलाई मूल्याङ्कनको आधार बनाइएको थियो।
स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठीमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले उत्कृष्ट पालिकालाई प्रशंसापत्र प्रदान गर्नु भयो ।
यसैगरी विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकालाई समेत प्रशंसापत्र प्रदान गरिएको छ। औषधि व्यवस्थापनतर्फ बुद्धभूमि नगरपालिका, खोजपड्तालतर्फ कपिलवस्तु नगरपालिका, डिजिटल प्रणालीतर्फ विजयनगर गाउँपालिका, डकुमेन्टेसनतर्फ मायादेवी गाउँपालिका, इनोभेसनतर्फ शुद्धोधन गाउँपालिका, समन्वयतर्फ शिवराज नगरपालिका र कार्यान्वयनतर्फ यशोधरा गाउँपालिकाले प्रशंसापत्र प्राप्त गरेका छन्।
कार्यक्रममा किड्स र कालिका सामाजिक विकास संस्थालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो। वार्षिक समीक्षा गोष्ठीमा वरिष्ठ जनस्वास्थ्य प्रशासक नेत्र अर्याल, स्वास्थ्य कार्यालय कपिलवस्तुका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तव, मोहम्मद इरफानसहित जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट ठहरिनु बाणगंगाका लागि उपलब्धि मात्र नभई अन्य पालिकाका लागि पनि सेवा सुधारको प्रेरणा बनेको छ। सूचकमा आधारित मूल्याङ्कनले पालिकाहरूलाई आफ्ना कमजोरी पहिचान गरी आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने अवसरसमेत दिएको जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले बताउनु भयो ।










प्रतिक्रिया