काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल जारी छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनः स्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् । सभापति देउवाले संसद विघटनको मुद्दालाई लिएर पार्टीभित्रै आफ्नो चरित्र हत्या गर्न लागिएको भन्दै हिजोको वैठकमा आक्रोश व्यक्त गरेका थिए ।








प्रतिक्रिया