पर्यटन

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी



काठमाडौँ १० फागुन । गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिनुभयो ।

  यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ । सोका लागि केन्द्रीय कार्यालयसँग रु २८ लाख ६५ हजार ३७६ माग गरिएको छ । साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र  धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ । कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो ।  कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६