कपिलवस्तु २७ फागुन । मानवअधिकारका लागि एकल महिला समुह कपिलवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १० दिने झोला सिलाउने तालिम वुधवार सकिएको छ । तालिम समापनका अवसरमा बोल्दै वडा नं १ का अध्यक्ष बालकुमारी पन्तले सिपले महिलालाई आत्मनिर्भर बनाउने बताउनु भयो । नगरपालिकाले महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउदै लगेको समेत उहाँले स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष गणेश क्षेत्रीले नगरले महिलाहरुलाई आर्थिक शसक्तिकरणका लागि सिलाईकटाई , कुसन , मुढा , चुरा , पार्लर लगायतका सिप सिकाउदै आर्यआर्जनमा लगाउने गरेको बताउनु भयो ।
एकल महिला समुहका जिल्ला अध्यक्ष रुपा राईले एकल महिलाहरुले सिप सिकेर व्यवसाय गर्दा आर्थिक रुपले सहज हुने बताउनु भयो । नगरका ११ वटै वडाका महिलाहरु सहभागी भएको तालिममा १० दिन झोला बनाउने तालिम लिए पछि सिलाउने मेशिन समेत महिलाहरुले पाएका थिए । सिप सँगै मेशीन पाए पछि महिलाहरु खुशी भएका थिए । १० दिन सम्म चलेको तालिमको प्रशिक्षण वसन्ती सेनले दिनु भएको थियो । शोभा आचार्यको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया